काठमाडौं- सार्वजनिक संस्थानहरुको नाफासँगै सञ्चालन आयमा कमी आएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानहरुको वित्तीय विवरणमा आर्थिक वर्ष २०७६/७७ मा संस्थानहरुको खुद नाफा १.२१ प्रतिशतले घटेर ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ पुगेको छ।
यसैगरी संस्थानहरुको सञ्चालनमा आय पनि ९.०३ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा कूल संस्थानहरुको सञ्चालन आय चार खर्ब ७१ अर्ब २४ करोड ४६ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा घटेर चार खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमात्रै भएको छ।
लाभांश रकम भने बढेको छ। ४८.८७ प्रतिशतले बढेको लाभांश १४ अर्ब नाै करोड ९५ लाख रुपैयाँ प्राप्त भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको पहेँलो किताब (संस्थानहरुको वित्तीय विवरण समावेश भएको)मा उल्लेख छ।
यसैगरी सञ्चित नाफा १८.१९ प्रतिशतले बढेर एक खर्ब नाै अर्ब ७४ करोड ८० लाख रुपैयाँ पुगेको छ भने सञ्चित नोक्सान ०.९३ प्रतिशतले घटेर ३४ अर्ब २३ करोड ६१ लाख रुपैयाँ कायम भएको छ।
चालु आर्थिक वर्षमा ४४ सार्वजनिक संस्थान अस्तित्वमा रहे पनि ३८ वटा मात्रै सञ्चालनमा रहेका छन्। अस्तित्वमा रहेको २४ वटा संस्थान सञ्चालनमा रहेका छन् भने दुई वटाको कारोबार शून्य र १८ वटा संस्थान घाटामा रहेका छन्।
आर्थिक वर्ष ०७६/७७ मा नाफामा सञ्चालित २४ संस्थानको खुद नाफा ४.२८ प्रतिशत र नोक्सानमा रहेका १८ संस्थानको खुद नोक्समनी ९९.४६ प्रतिशतले बढेको छ। सार्वजनिक संस्थानको प्रशासनिक खर्च १२.६८ प्रतिशतले बढेको छ।
यसैगरी सेयरधनी कोष/नेटवर्थ १३.११ प्रतिशतले बढेर सात खर्ब तीन अर्ब ९० करोड ३४ लाख रुपैयाँ पुगेको छ। साथै, संस्थानहरुमा नेपाल सरकारको लागनी बढेर पाँच खर्ब १९ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।