काठमाडाैं- जम्मू- कश्मीरस्थित कठुआ जिल्लाको 'होल्डिङ सेन्टर'मा काेराेना संक्रमण फैलिएकाे छ।
बीबीसी हिन्दीका अनुसार जिल्लास्थित हिरानगरको 'होल्डिङ सेन्टर'मा रहेका ५३ रोहिंज्या मुसलमानमा कोरोना संक्रमण पुष्टि भएको हो।
मार्चको पहिलो साता जम्मूमा एउटा विशेष अपरेसन गरिएको थियो। उक्त अपरेसनबाट अवैधरूपमा बसोबास गरिरहेका रोहिंज्याहरुलाई पक्राउ गरी 'होल्डिङ सेन्टर'मा पठाइएको थियो।
कठुआका प्रमुख चिकित्सा अधिकारी डा अशोक चौधरीले बीबीसीलाई भने, ‘गत हप्ता सामान्य परीक्षणमा केही व्यक्तिमा कोरोना संक्रमणको संकेत देखाएको थियो। सोमबारदेखि तीन दिने शिविर शुरू भएको थियो र यहाँ बस्नेहरुको कोरोना परीक्षण गरियो।’
उनका अनुसार अप्रिलको पहिलो हप्तामा ४५ भन्दामाथि उमेर समूहका ५८ रोहिंज्यालाई खोप पनि दिइएको थियो।
कठुआ जिल्ला मजिस्ट्रेट राहुल यादवले भने,‘कोरोना संक्रमित रोहिंज्या सबैको अवस्था सामान्य छ। कसैलाई अस्पताल पठाइएको छैन। 'होल्डिङ सेन्टर'मा खटिएका डाक्टरले उनीहरूको निरीक्षण गरिरहेका छन्।’
उनका अनुसार बाँकी रोहिंज्यालाई संक्रमणबाट बचाउन पोजिटिभ आएकाहरुबाट अलग राखिएको छ। यद्यपि उनीहरुका आफन्तले संक्रमण पुष्टि भएका वृद्धहरुलाई रिहा गर्न माग गरेका छन्। रिहा गरे घरमै हेरचाह गर्ने उनीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।