काठमाडौं– कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी दिने वा नदिने विषयमा सर्वोच्च अदालतमा दर्ता भएको रिटमा सुनुवाइ सरेको छ।
न्यायाधीशद्वय चोलेन्द्र सम्सेर राणा र हरिकृष्ण कार्कीको इजलासमा ख नम्बरमा पेशी रहेको उक्त मुद्दा कार्कीले हेर्न अस्वीकार गरेपछि सुनुवाइ सरेको हो।
सरकारले ढुंगेललाई जेठ १५ गते आममाफी दिन लागेकाले त्यसलाई रोक्न माग गर्दै रिट दायर भएको थियो।
शुक्रबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ढुंगेललाई माफी दिनुको कारणसहित २४ घन्टाभित्र अदालत उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको थियो। शनिबार सार्वजनिक बिदाको दिन भएकाले सर्वोच्चले आइतबार दुवै पक्षको छलफलको मिति इजलासबाट तोकेको थियो। आइतबार सुनुवाइ सरेकाले दुई दिनभित्र यसको सुनुवाइ भई निर्णय हुनुपर्नेछ। निर्णय नभए ढुंगेलले माफी पाउनेछन्।
ढुंगेललाई जेलमुक्त गर्ने सरकारको प्रक्रिया विरुद्ध सर्वोच्चमा अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए। बिहीबार अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले छलफलमा बोलाएको थियो। सर्वोच्चले उच्च महत्वको भन्दै २४ घन्टाभित्र छलफलमा बोलाएको थियो। तर, मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेशी परेपछि सरेको हो।
सरकारले ढुंगेलसहित करिब ८ सय ५० कैदीलाई कैद माफी दिई गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेको छ। त्यसका लागि कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयमा सूची समेत पठाइसकेको छ।
यसअघि बाबुराम भट्टराई सरकारले पनि माफी दिन खोज्दा सर्वोच्चले नै रोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।