कोलकता- भारतमा ‘यास’ चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीबाट चारजनाकाे मृत्यु भएकाे छ।
भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ। बीबीसीका अनुसार हालसम्म चारजनाले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउनेमा तीन ओडिशामा र एक जना पश्चिम बंगालका हुन्।
स्थानीय मिडियालाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले केन्झार र बालासोरमा रूख ढलेर दुई व्यक्तिको मृत्यु भएको जनाएकाे छ। यद्यपि, यसको आधिकारिक पुष्टि भने भएकाे छैन।
यसैबीच, मयुरभञ्ज जिल्लामा घर ढल्दा एक वृद्ध महिलाको मृत्यु भएको छ।
पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीका अनुसार राज्यमा एकजनाको मृत्यु भएकाे छ। उनी पहिला घाइते भएका थिए। उनकाे उपचारकै क्रममा मृत्यु भएकाे बताइन्छ।
भारत सरकारले यी दुई राज्यमा देखिनसक्ने संकटलाई ध्यानमा राख्दै यसअघि नै ठूलो संख्यामा सेना परिचालन गरेको थियो।
यद्यपि, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका अनुसार चक्रवातपछिको भारी वर्षा र हावाहुरीका कारण माटोका २० हजारभन्दा धेरै घर र ओत लाग्न बनाइएको अस्थायी शिविरहरुमा क्षति पुगेको छ।
पूर्वी मेदिनीपुर जिल्लाको दीघा र मन्दारमणि क्षेत्रका समुद्रमा ३० फिटभन्दा माथिसम्म छाल उठेको छ। जसका कारण सम्पूर्ण सहर डुबानमा परेका छन्। दीघा सहरमा पाँचदेखि छ फिट पानी भरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।