कोलकता- भारतमा ‘यास’ चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीबाट प्रभावित १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ। भारत सरकारले यी दुई राज्यमा देखिनसक्ने संकटलाई ध्यानमा राख्दै यसअघि नै ठूलो संख्यामा सेना परिचालन गरेको थियो।
यद्यपि, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका अनुसार चक्रवातपछिको भारी वर्षा र हावाहुरीका कारण माटोका २० हजारभन्दा धेरै घर र ओत लाग्न बनाइएको अस्थायी शिविरहरुमा क्षति पुगेको छ।
पूर्वी मेदिनीपुर जिल्लाको दीघा र मन्दारमणि क्षेत्रका समुद्रमा ३० फिटभन्दा माथिसम्म छाल उठेको छ। जसका कारण सम्पूर्ण सहर डुबानमा परेका छन्। दीघा सहरमा पाँचदेखि छ फिट पानी भरिएको छ।
‘उत्तर र दक्षिण-२४ परगना जिल्लाका धेरै स्थानमा बाँध भत्किँदा पूर्वी मेदिनीपुरबाहेक तटीय क्षेत्रका सयौं गाउँ डुवानमा परेका छन्। पूर्वी मेदिनीपुर जिल्लामा मात्र ५१ वटा बाँध भत्किएको छ,’ मुख्यमन्त्री बनर्जीले भनिन्,‘ काकद्वीपमा पाँच किलोमिटर मुडी गंगा नदीको पानी पसेको छ। अहिलेसम्म २० हजार घरमा पूर्ण रूपमा क्षति पुगेको छ।
यता ओडिसाका मुख्यमन्त्री नवीन पटनाइकेले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै तटीय क्षेत्रबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
अहिले कोरोना संक्रमणको दोस्रो लहरको सामना गरिरहेको भारतका लागि आपत्कालीन शिविरमा मास्क वितरण तथा भौतिक दूरी कायम गराउन कठिन हुने देखिएको छ। यसले कोरोना संक्रमण फैलाउन सहयोग गर्ने भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।