काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई गरेको कारबाहीको कुनै अर्थ नरहेको र त्यो हास्यास्पद कदम मात्र भएको टिप्पणी गरेका छन्।
सोमबार साँझ बसेको एमाले स्थायी कमिटीको बैठकले नेपालसहित एमालेका ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन हस्ताक्षर गरेको भन्दै एमालेले दुई दिन पहिले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ नदिएपछि एमालेले उनीहरुलाई तत्कालै निष्काशन गर्ने निर्णय गरेको हो।
यस्तो निर्णय सार्वजनिक भएलगत्तै वरिष्ठ नेता नेपालले सोमबार साँझ नेपाल लाइभसँग भने, ‘हामी नेपालको कम्युनिष्ट आन्दोलनले जन्माएका, त्यो आन्दोलनमा दशकौं बिताएका मानिस हौं, कम्युनिष्ट आदर्श र मूल्यमान्यताबाट च्युत भइसकेका केपी ओलीले हामीलाई कारबाही गरें भन्नु हास्यास्पद कुरा हो।’
नेपालले ओलीलाई सुधार्ने निकै प्रयास गरेको र त्यसमा सफल नभएको बताए। ‘सुध्रिनु त के, उहाँले आफूलाई निरंकुश शासकको रुपमा देखाउनु भयो,’ उनले भने,‘पार्टीलाई मुठ्ठीमा राखेर चलाउन खोज्नुभयो, व्यक्तिवाद र गुटवादलाई मात्र प्रश्रय दिनुभयो।’
नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली कम्युनिष्ट आन्दोलनका नाममा कलंक बनेको टिप्पणीसमेत गरे। ‘राष्ट्रियता, गणतन्त्र, संघीयता र देशलाई घात गर्न जुनसुकै कुकर्म गर्न पनि पछि नपर्ने पात्रका रुपमा उहाँ इतिहासमा दर्ज हुनुहुनेछ,’ उनले भने।
‘केपी ओलीले संसद र संविधान सिध्याउने गरी प्रतिगमनकारी कदम चालेकाले हामी त्यसको विरोधमा उत्रिएका हौं,’ संसद जोगाएर जनताले प्राप्त गरेका अधिकारको वैधता कायम राख्नका निम्ति हामीले यो कदम चालेका हौं,’ नेपालले भने, ‘यसले नै संविधानलाई सुचारु गर्न मद्दत पुर्याउँछ भन्नेमा हामी प्रष्ट छौं।’
ओलीका ‘राष्ट्रिय हितविरोधी र स्वेच्छाचारी काम’को विरोध गर्दै आएको र निरन्तर गरिरहने उल्लेख गर्दै उनले भने, ‘अब हामी साथीहरु बसेर कस्तो कदम चाल्ने भन्ने सल्लाह गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।