काठमाडौं- नेकपा (एमाले)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका ११ जना ‘सांसद’लाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय लिएको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले उनीहरुलाई निष्कासन गर्ने निर्णय लिएको हो।
जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो। वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, कालिला खान र नीरादेवी जैरुलाई स्पष्टीकरण सोधिएको हो। उनीहरुलाई सोमबार बिहानसम्मको समय दिइएको थियो। तर उनीहरुले जवाफ दिएका थिएनन्। सोमबारमात्रै नेता रावलले जवाफ फर्काउन औचित्यहीन भनेका थिए।
आजको बैठकमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालपक्षका नेताहरुलाई विभिन्न आरोप लगाएका थिए। ‘उहाँहरु सिद्धान्तहीन लम्पसारवादी गुट चलाइराख्नुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।
आजको बैठकले घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।