काठमाडौं- यतिबेला नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिरहेको छ। संक्रमणका कारण छोटो समयमा नै धेरैले ज्यान गुमाएका छन् भने हजारौं बिरामी भएका छन्।
अस्पताल र स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेपछि धेरै संक्रमितले अक्सिजन र उपचार अभावमा ज्यान गुमाउनुपरेको छ।
जनस्वास्थ्यविज्ञले गत वर्षको अनुभव र भइरसको फैलावटलाई हेरेर अब कात्तिक र मङ्सिर महिनामा तेस्रो लहर आउने चेतावनी दिइरहेका छन्।
तर सरकारले भने त्यही समयमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको छ। जनस्वास्थ्यविज्ञहरुको सुझाव र चेतावनीलाई नजरअन्दाज गर्दै सरकारको ध्यान सत्ताको खेलमा नै सीमित भइरहेको देखिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएयता कहिले पनि यो विषयलाई गम्भीर रुपमा नलिएको स्वास्थ्य मन्त्रालयका कर्मचारीको आरोप छ। जनस्वास्थ्यविज्ञले पनि प्रधानमन्त्रीले कोरोना महामारीले निम्त्याइरहेको समस्यालाई गम्भीर रुपमा नलिएको भन्दै आलोचना गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा व्यक्त गरेका धारणाले पनि यो कुरालाई पुष्टि गरिरहेको छ। झन् पछिल्लो समयमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्दै कात्तिक र मङ्सिरमा निर्वाचन घोषणा गरेपछि जनस्वास्थ्यविज्ञहरु थप चिन्तित बनेका छन्।
पहिलो लहरमा विश्वका अन्य मुलुकको तुलनामा मानवीय क्षति कम भएको र संक्रमितमा गम्भीर खालका लक्षण कम देखिएकाले नागरिकहरुले यसलाई त्यति गम्भीररुपमा लिएका थिएनन्। अझ यसमा झन् प्रधानमन्त्री ओलीले अम्बाको पात र बेसार पानीको कुरा गरेर हल्का टिप्पणी गरेपछि आमरुपमा थप लापरबाही बढ्दै गएको थियो।
अघिल्लो वर्षको लकडाउनले संक्रमण कम फैलिए पनि दसैं तिहारमा खुलेको लकडाउनको असर कात्तिक र मङ्सिरमा देखियो। १० हजारभन्दा संक्रमित हुँदैन भन्ने सरकारको अघिल्लो पटकको प्रक्षेपण गलत सावित भयो। लकडाउन खुलेसँगै मानिसहरुको चहलपहल र एक ठाउँबाट अर्को स्थानमा जाने-आउने क्रम बढ्दा तथा जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा नियन्त्रणउन्मुख रहेको संक्रमणले फेरि रफ्तार लिएको देखिन्छ।
संक्रमणको दोस्रो लहरसँगै भारतमा पनि निर्वाचनका गतिविधिले छोटो समयमा संक्रमण र मृत्युदर ह्वात्तै बढेको देखिन्छ। नेपालमा पनि अहिले त्यस्तै गल्ती गर्ने तयारीमा सरकार लागेको छ।
भारतमा देखिएको दोस्रो लहरबारे चिकित्सकहरुले पटक-पटक सचेत गराए पनि व्यवस्थापनमा देखिएको लापरवाहीले नेपालमा अनपेक्षित रुपमा संक्रमणदर र मृत्युदर बढ्न पुगेको छ। अहिले देखिएको लहर अबको केही दिनमा कम हुँदै गए पनि कात्तिक र मङ्सिरमा भने फेरि अर्को लहर आउने र त्यो झन् खतरनाक हुने विज्ञहरुको प्रक्षेपण छ। विज्ञहरुले यसका लागि तयारी अवस्थामा रहँदै रोकथामका काम अगाडि बढाउन सुझाव दिइरहेका छन्।
गत वर्षको तथ्यांक हेर्दा कात्तिक र मङ्सिरको दुई महिनामा नेपालमा संक्रमणदर उच्च विन्दुमा पुगेको थियो। अघिल्लो वर्षको कात्तिक र मङ्सिर महिनामा मात्र नेपालमा ९६ हजार ११७ जनालाई कोरोना संक्रमण भएको तथ्यांक छ।
२०७६ माघमा देखिएको संक्रमण असोज २३ गतेसम्म पुग्दा एक लाख नाघेको थियो। यस्तै मृत्यु हुने संक्रमितको सख्या ६०० पुगेको थियो। तर, उक्त दुई महिना (कात्तिक-मङ्सिर)को अवधिमा नै झण्डै यो संख्या दोब्बर भयो। दुई महिना करिब एक लाख व्यक्तिमा संक्रमण भयो भने ५८४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। संक्रमणमात्र होइन मृत्युदर पनि दोब्बर भएको थियो। सो अवधिमा ८९ हजार ४०९ संक्रमित निको भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।