काठमाडाैं- कङ्गोका ज्वालामुखी विस्फोट हुँदा फैलिएको लाप्काले हजाराैँ नागरिक बिस्थापित भएका छन्।
शनिबार माउन्ट निरागोन्गोमा ज्वालामुखी विस्फोट भएको थियो। २० लाख जनसंख्या रहेको गोमा सहरबाट झन्डै १० किलोमिटरको दुरीमा ज्वालामुखी विस्फोट भएको हो। त्यसबाट टनका टन लाप्का निस्किएर आसपास फैलिएको छ।
अधिकारीहरूले लाप्का गोमा सहर नजिकसम्म आइपुगको बताएका छन्। लाप्काका कारण कङ्गोको पूर्वमा रहेको सहर गोमाको उत्तरमा केही घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
ज्यान बचाउनका लागि भाग्ने क्रममा कम्तीमा पाँच जनाको मृत्यु भएकाे अधिकारीहरूले बताएका छन्। सहरको पूर्वमा रहेको विमानस्थल नजिक पुगेर लाप्का बग्ने क्रम रोकिएको बताइएको छ।
लाप्काबाट बच्न झन्डै तीन हजार नागरिक छिमेकी देश रुवान्डातर्फ आएको त्यहाँका अधिकारीहरूले बताएका छन्।
भागेर आएका नागरिकका लागि अस्थायी रूपमा विद्यालय र धार्मिक भवनमा व्यवस्था गरिएको रुवान्डाको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
केही नागरिक सहरको पश्चिमी क्षेत्रतर्फ भागेको अधिकारीहरूले बताएका छ। यसअघि सन् २००२ मा पनि कङ्गोमा ज्वालामुखी विस्फोट भएको थियो। त्यसबेला दुई सय ५० जनाको ज्यान गएको थियो भने हजारौँ घर नष्ट भएका थिए।
यस्तै घटनामा एक लाख २० हजार नागरिक घरविहीन भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।