काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भए निष्काशन गर्ने निर्णय गरेको छ। शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो।
आतइबार सार्वजनिक निर्णय अनुसार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई गैरसंवैधानिक,अलोकतान्त्रिक भनिएको उल्लेख छ। पार्टीको नीति, सिद्धान्त, विधान र कार्यदिशा विपरीत हिँडेको भन्दै नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी स्पष्टीकरण सोध्ने निर्णय भएको पनि जनाइएको छ।
पार्टी विरोधी गतिविधिमा संलग्न अन्यको बारेमा आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताएका छन्।
बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको पनि गरेको छ।
कोरोना महाव्याधी नियन्त्रण तथा स्वास्थ्य सेवा प्रबन्धमा कुनै प्रकारको हेलचक्र्याइँ नगर्न, परीक्षण, अस्पताल बेड, अक्सिजन, स्वास्थ्य सामग्री, औधषिको आपूर्ती तथा जनशक्ति व्यवस्थापनमा प्रभावकारिता ल्याउन बैठकले सरकारसँग माग गरेको छ।
यस्तै, अविलम्ब सबै नागरिकका लागि बिनाभेदभाव खोपको प्रबन्ध गर्न, लकडाउनमा जीवन धान्न गाह्रो पर्ने श्रमजिवी वर्ग र परिवारका लागि आर्थिक राहत प्रदान गर्न र शिथिल अर्थतन्त्रको पुनउत्थानका लागि विशेष आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरिएको खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।