काठमाडौं– आफ्नो पक्षबाट प्रधानमन्त्रीमा गरिएको दाबीलाई अस्वीकृत गर्दै प्रतिनिधि सभा विघटन गरिएपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरेको विपक्षी गठबन्धनले हस्ताक्षर संकलन शुरु गरेको छ। एमालेको माधवकुमार नेपाल पक्षले पनि हस्ताक्षर संकलन गरिरहेको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका नेताहरुले हस्ताक्षर गरिरहेका हुन्।
एमालेका नेताहरु बानेश्वरमा आउने र हस्ताक्षर गर्ने क्रम जारी छ। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका शीर्ष नेताहरु पनि हस्ताक्षरका लागि बानेश्वर पुगिसकेका छन्।
एमालेका नेताहरुले ३० जनाले हस्ताक्षर गर्ने दाबी गरेका छन्। शुक्रबार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा एमालेको यो पक्षका २६ जनाले हस्ताक्षर गरेको बताइएको थियो। आज थप चार जनाले हस्ताक्षर गर्ने बताइएको छ।
नेपाल पक्षमा रहेका भनिएका योगेश भट्टराई तथा गोकर्ण विष्ट भने हस्ताक्षर स्थलमा आएका छैनन्। भट्टराईले शुक्रबारै आफूले हस्ताक्षर नगरेको भन्दै सार्वजनिक रुपमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।