काठमाडौं– एमाले नेता घनश्याम भुसालले सत्ताधारीले ऐतिहासिक वैधता गुमाएपछि नक्कली वैधता सिर्जना गर्न प्रयत्न गर्ने बताएका छन्। तर, राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले नहुनेसमेत उनको भनाइ छ।
सरकारले संसद भंग गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि नेता भुसालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।
सत्ताधारीले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ, क्रान्तिले उत्तिकै वैधता पाउँदै जाने भुसालले बताएका छन्। भुसालका अनुसार यस्तो अवस्थामा सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ ।
मार्क्सलाई उद्धृत गर्दै भुसालले समस्या केवल व्यक्ति वा व्यक्तिहरुको नभएर त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको भएको निष्कर्षसमेत निकालेका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अराजनीतिक छक्का पञ्जाको चाल चलेको आरोपसमेत लगाएका छन्। कुनै व्यक्ति वा संस्थाको नाम नलिएरै भुसालले सत्तामा रहनेले राजनीतिक समस्याको समाधान अराजनीतिक छक्का पञ्जाको चाल चल्ने गरेको भन्दै त्यसले राजनीतिक समस्याको समाधान ननिस्कने बताए।
‘सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पंक्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ,’ भुसालले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।