काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो वक्तव्यमा राष्ट्रपतिलाई 'तपाईं' समेत नभनेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन्।
आफूले देउवाको वक्तव्य पढेको र त्यसमा राष्ट्रपतिलाई 'असभ्य' भाषामा सम्बोधन गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्वर्गीय बुद्धिबहादुर रायमाझीको ‘पञ्चायतका १३ वर्ष’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
'लोकतन्त्र नमान्नेहरु आदर्शको नक्कली कुरा गरिरहेका छन्। देउवाजीको वक्तव्य हेरेँ। राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन। राष्ट्र प्रमुखलाई तपाईं पनि भनिएन', ओलीले भने, 'देउवाको त्यो अभिव्यक्ति देखेपछि गणतन्त्रलाई कहाँसम्म खुइल्याइएको छ थाहा हुन्छ। असभ्यता हाम्रो संस्कृति होइन।'
एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल आफ्नो दलको सरकार गिराएर प्रतिस्पर्धी दलको नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै आलोचना गरे।
'विपक्षीसंग मिलेर कुरुप राजनीति अहिले पनि आन्दोलनका क्रममा देखिएका छन्। आफ्नो दलको सरकार गिराएर प्रतिस्पर्धी दलको नेतालाई प्रधानमन्त्री बनाउन लागे', ओलीले भने, 'जो (कांग्रेस)सँग फेरि पनि प्रतिस्पर्धा गर्नुपर्ने छ, उही दलको नेतालाई प्रधानमन्त्री बनाउन लागे। यी आन्दोलनलाई कमजोर बनाउनेहरु हुन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।