काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारले गर्दा नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त भएको बताएका छन्। शनिबार बालुवाटारमा आयोजित बुद्धिबहादुर तामाङको पुस्तक ‘पञ्चायती जेलमा १३ वर्ष’ विमोचन कार्यक्रममा बोल्दै उनले नेताहरु ‘म’ भन्ने भावनाले बिरामी भएको बताए।
‘आज इमान छोड्नु, अहंकारी हुनु, अहंकारको पछि कुद्नु, ‘म’ भन्ने भावनाबाट आक्रान्त बिरामी हुनु जस्ता कुराले यस्तो प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा पनि यति माथि पुर्याइएको नेपालको कम्युनिस्ट आन्दोलन, लगभग दुईतिहाइको स्थितिमा पुर्याइएको, एकीकृत बनाइएको आन्दोलन त्यसलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘त्यसलाई फुटाइयो। अदालतलाई अब्जश लगाइएको छ तर अदालतको फैसलाअघि नै पार्टी फुटाइसकिएको थियो।‘
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई गरिएको प्रस्तावमा हस्ताक्षर गरेका एमाले नेता माधवकुमार नेपाल लगायतका नेतालाई उनले बिकेको आरोप पनि लगाए। ‘हिजो मात्रै हामीले देख्यौं। जुन दलसँग प्रतिस्पर्धा गरियो। फेरि पनि गर्नुछ। उही दलको नेतालाई प्रधानमन्त्री बनाउन अनुशासन तोडियो,’ उनले भने, ‘यस्तो कुरामा पार्टीको निर्णय गरिरहनुपर्दैन, सामान्य कार्यकर्ताले बुझेको कुरा नेताले बुझ्दैनन् भन्ने होइन, तर जब नेता बिक्छ, पतित हुन्छ, तब आन्दोलनलाई सिध्याउन उद्यत हुन्छ।‘
ओलीले आन्दोलनका विरुद्ध इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, विभत्स अनुशासनहिनता देखिएको बताए। ‘नेपालमा छरिएको उज्यालोलाई निभाउने देशी विदेशी जनविरोधी प्रतिक्रियावादी शक्तिहरु जुन छन्। तिनीहरुको मतियार भएर, तिनीहरुको सेवक भएर निर्लज्जलतापूर्वक अहिले आन्दोलनको विरुद्धमा लाग्ने तत्वहरु देखिएका छन्,’ ओलीको भनाइ थियो।
ओलीले राष्ट्रपतिलाई ‘तपाईं’ नभनेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गरे। ‘मैले आज प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरें। राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन। सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा तिमी, उनी, यसो गरिन् भन्ने भाषा बोलिएको छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले देउवाको विज्ञप्तिपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई र व्यापकता कहाँसम्म पुगेको छ भन्ने कुरा अचम्म लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।