काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) नेपालको डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक दिउँसो २ बजे बस्न लागेको छ।
बाबुराम तथा उपेन्द्र पाँच दलको सर्वदलीय बैठकमा सहभागी हुन गएकाले ढिलो गरी बैठक बस्न लागेको नेता नवराज सुवेदीले बताए। शुक्रबारै महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित गरे पनि भट्टराई–यादव पक्षले भने शुक्रबार दिउँसोका लागि बैठक बोलाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा प्रतिनिधि सभा विघटनपछि आपनाइने रणनीतिका विषयमा बैठकमा छलफल हुने नेता सुवेदीले बताए। पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महतोले पार्टी नीति विपरीत गतिविधि गरेकाले त्यस विषयमा छलफल भइ कारवाही हुनसक्ने पनि नेता सुवेदीले बताए।
जसपाको ५२ जना (जेलमा रहेका रेशम चौधरी) सहित कार्यकारिणी समिति छ। त्यसमध्ये बाबुराम–उपेन्द्रपक्षले ३० जना भन्दा धेरै कार्यकारिणीमा भएको दाबी गरेको छ। यसअघि वैशाख १४ गते बसेको कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षका २७ जनाले हस्ताक्षर गरेका थिए।
यस्तै, अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएर निर्णय गरेका थिए। पार्टीमा दुई अध्यक्षवीच ८ बुँदे सहमती भएको भन्दै विज्ञप्ति समेत जारी गरिएको थियो। त्यसको २४ घण्टा वित्न नपाउँदै संसदीय दलको नेता को हुने भन्ने विषयलाई लिएर विवाद चर्किएको थियो।
अन्तमा राजेन्द्र महताले आफूलाई संसदीय दलको नेता भएको पत्र संसद सचिवालयमा दर्ता गराएर आफ्नो दलको कार्यालयमा जिम्मेवारी सम्हालेका थिए। शुक्रबार बाबुराम–उपेन्द्र पक्षका सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दै हस्ताक्षर गरेका थिए। तर महन्थ–राजेन्द्र पक्षले केपी ओलीलाई नै निरन्तरता दिने भनेर समर्थन जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।