काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी छन्। शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान १ :४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरिएको जानकारी गराएकी हुन्।
त्यसअघि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको लागि परेका दुईवटा दाबीलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन्। दलीय हस्ताक्षर बुझाएका प्रधानमन्त्री केपी शर्मा ओली र सांसद्हरुको हस्ताक्षर बुझाएका शेरबहादुर देउवाको दाबीलाई उनले अस्वीकृत गरेकी हुन्।
दाबी अस्वीकृत र मध्यावधि निर्वाचनको घोषणालाई लिएर विपक्षी दलका नेताहरु तथा विश्लेषकहरुले विरोध सुरु गरेका छन्। मध्यरातमा गरिएको निर्णय भएकाले धेरैको प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। तर, सार्वजनिक भएका केही प्रतिक्रियाले भने पछिल्लो निर्णयको विरोध हुने आकलन गर्न सकिन्छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहारको रुपमा मध्यावधि दिइएको बताएका छन्। ट्विटरमार्फत धारणा सार्वजनिक गर्दै उनले सिंगो महाभारतको सार भन्दै लेखेका छन्- `अहंकारको वृक्षमा विनाशको फल लाग्छ।´ उनले जनता पछि होइन अघि हुनेछन् भन्ने चेतावनी पनि दिएका छन्। ‘जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ’, उनले लेखेका छन्।
कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिको कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन्। ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो। राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन’, उनको धारणा छ।
कांग्रेसकै नेता रमेश लेखेकले राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुननसक्ने ठोकुवा गरेका छन्। ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन्। यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन’, उनको भनाइ छ।
माओवादी केन्द्रका नेता बर्षमान पुनले भने केपी ओली नेपालीले आफ्नो संविधान बनाएको मन नपराउने शक्तिको गोटी बनेको र राष्ट्रपति भण्डारी ओलीको गोटी बनेको बताएका छन्। ‘नेपालीले आफ्नो संविधान बनाएको मन नपराउने शक्तिको डिजाइनमा केपी ओली गोटी बने भने केपीको गोटी विद्या भण्डारी। संविधान च्यातियो, लोकतन्त्रमाथि प्रहार भयो र जनभावना कुल्चिने काम भयो। नगर्ने चुनावको घोषणा। भनिन्छ, अति भए, खती हुन्छ’, उनले ट्विटरमा लेखेका छन्।
विश्लेषक गेजा शर्मा वाग्लेले नेपथ्यको शक्तिकेन्द्र निर्देशनमा कदम चालिएकको बताएका छन्। उनले राष्ट्रपतिबाट गणतन्त्र र ओलीबाट लोकतन्त्र जोगाउन आह्वान पनि गरेका छन्। ‘नेपथ्यको शक्तिकेन्द्रको निर्देशनमा राष्ट्रपतिद्वारा मध्यरातमा लोकतन्त्र, संसदीय प्रणाली र संविधानको चिरहरण’, उनले लेखेका छन्, ‘अब नहुने मध्यावधि निर्वाचन घोषणा गरेर राजनीतिक र संवैधानिक संकट सिर्जना गरी संविधानलाई नै असफल बनाउने संगीन षड्यन्त्र!’
त्यस्तै विश्लेषक कृष्ण पोखरेलले मध्यरातमा राष्ट्रपतिले संविधानको हत्या गरेको लेखेका छन्। ‘ख्वामितको इच्छा पूरा’, उनले लेखेका छन्।
लेखक तथा नागरिक अभियन्ता नारायण वाग्लेले दुई तिहाईको जनमतलाई मध्यावधिको अपमान भन्दै पछिल्लो कदमको आलोचना गरेका छन्। ‘५ वर्ष स्थिर संसद खोजेको संविधानलाई लोप्पा ख्वाए। संसद देखिसहेनन्, अध्यादेशबाट चलाइरहे। महामारीमा जनतालाई खोप दिने होइन, मतपत्र थमाउने भए। जनतालाई निषेधाज्ञा लगाएर, जनप्रतिनिधिको शक्ति अवज्ञा गर्दै शासनमा जो छ उसकै आसन थमाउने भए’, उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।