काठमाडौं– प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको प्रतिपक्षी दलहरुले विरोध गरेका छन्।
मध्यरातमा प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा भएलगत्तै विपक्षी पार्टीका नेताहरुले विरोध गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको सामूहिक बलात्कारको गरेको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ,’ उनले लेखेका छन्।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले राष्ट्रपतिले मध्यरातमा डकैती गरेको आरोप लगाएका छन्।
'मध्यरातमा डकैती गरियो। ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे,' उनले सामाजिक सञ्जाकल ट्विटरमा लेखेका छन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका वर्तमान प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको दाबीको आधार नपुगेको भन्दै खारेज गर्ने निर्णय गरेकी छन्।
शुक्रबार मध्यरात जारी गरेको विज्ञप्तिमा उनले दुवैजनाले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको समेत उल्लेख गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।