भारत– भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको लोकप्रियतामा ठूलो गिरावट आएको छ।
भारतमा मानिसहरु कोरोनाको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेका छन् भने दैनिक हजारौंको संख्यामा मृत्यु भइरहेको छ, यस्तोमा सर्भेको नतिजालाई मानिसहरुले अनौठो नमानेको बीबीसी हिन्दीले जनाएको छ।
मोदी २०१४ मा प्रधानमन्त्री निर्वाचित भएका थिए भने २०१९ मा तीन दशकपछि ठूलो बहुमतका साथ दोस्रोपटक प्रधानमन्त्री बनेका थिए।
भारतमा कोरोना महामारी यति नराम्रोसँग फैलिएको छ कि मानिसहरुको बेहाल भएको छ, भने सरकारी संयन्त्र काम गर्न नसक्ने अवस्थामा पुगेको छ। यो हप्ता कोरोना संक्रमणको मामला साढे २ करोडसम्म पुगेको छ।
अमेरिकाको डेटा इन्टेलिजेन्स कम्पनी मर्निङ कन्सल्टले मोदीको लोकप्रियतालाई लिएर सर्भे गरेको थियो र उक्त सर्भेको नतिजा मंगलबार सार्वजनिक गरिएको छ।
मर्निङ कन्सल्टले अगस्ट २०१९बाट मोदीको लोकप्रियतामाथि सर्भे सुरु गरेको थियो र त्यसबेला पछिको यो सबैभन्दा ठूलो गिरावट भएको जनाइएको छ। मोदीको कुल रेटिङ यस हप्ता ६३ प्रतिशत रहेको छ। यो अप्रिलको तुलनामा २२ अंकको गिरावट हो। सर्भेका अनुसार महानगरमा कोरोनाको बढ्दो प्रकोपका साथ मादीको लोकप्रियतामा गिरावट आएको छ।
मोदी सरकारले कोरोना महामारीसँग जुध्नका लागि कोशिश जारी रहेको जनाएको छ।
यसै महिना यूगोभ नामको एक एजेन्सीले पनि मोदी सरकारलाई लिएर सर्भे गरेको थियो। जसमा महामारीसँग लड्न मोदी सरकारप्रति नागरिकको भरोसा कम भएको पाइएको थियो। सर्भेमा सहभागी ५९ प्रतिशत मानिसले सरकारले संकटसँग जुध्न राम्रो काम गरिरहेको बताएका थिए जबकी पहिलो लहमा यसो भन्नेको संख्या ८९ प्रतिशत थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।