काठमाडाैं- चीनले इजरायल र प्यालेस्टाइनबीच जारी द्धन्द्धको शान्ति वार्ताका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको छ।
संयुक्त राष्ट्र संघको १५ सदस्यीय सुरक्षा परिषद्को भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्री वाङ्ग यीले जारी द्धन्द्धको शान्ति वार्ताका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेका हुन्।
‘शान्ती तथा वार्ताका लागि हामीले गरिरहेका प्रयाशलाई हामीले निरन्तर बढाउने छौँ र सुरक्षा परिषद्को अध्यक्षका रुपमा जिम्मेवारी पुरा गर्ने छौँ’, उनले भने,’ हामी प्यालेस्टाइन र इजरायलका प्रतिनिधीलाई खुला छलफलका लागि चीनमा आमन्त्रण गर्छौँ। चीनमा हुने दुवै पक्षबीचको प्रत्यक्ष वार्तालाई हामी स्वागत गर्छौँ।’
उनले तत्काल युद्धविराम गर्न तथा इजरायलले नाकाबन्दी अन्त्त्य गरि गाजामाथी हमला बन्द गर्न आह्वानसमेत गरे। कतिपय विश्लेषकहरुले मध्यपूर्वी एसियामा अमेरिकी प्रभावलाई कम गर्न चीनले यस्तो प्रस्ताव गरेको हुन सक्ने बताएका छन्।
यसअगाडि पनि चीनले द्धन्द्धग्रस्त क्षेत्रमा सुरक्षा परिषद्ले लिने निर्णयमा हस्तक्षेप नगर्न पनि अमेरिकालाई आग्रह गरेकाे थियाे।
अमेरिकाले आफ्नो जिम्मेवारी बहन नगरेको विदेश मन्त्री यीले बताएका थिए।
तनावलाई कम गर्न र राजनीतिक समाधानका लागि सुरक्षा परिषद्ले चाल्ने कदममा अमेरिकाले सहयोग गर्नुपर्ने उनको भनाई छ।
अमेरिका इजरायलको सहयोगी देश हो। उसले जेरुसेलमलाई इजरायलको भूमी भएको भन्दै मान्यता दिएको छ। यता, अमेरिकाले गाजामा नियन्त्रणका कायम गरेको हमासलाई आतंककारी समूह मान्दै आएकाे छ।
इजरायलले गरेको हवाई आक्रमणका कारण आइतबार एकै दिन ४२ जनाभन्दा धेरैको मृत्यु भएको गाजामा रहेका प्यालेस्टाइनी अधिकारीको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
गाजाका अधिकारिका अनुसार शनिबार एकै दिन १० बालबालिका र १६ महिलासहित ४२ जनाको इजरायली हवाई आक्रमणका कारण मृत्यु भएको हो।
यता, अमेरिकाले भने हमासबाट हुने कुनै पनि आक्रमणबाट आफ्नो रक्षा गर्ने इजरायली अधिकार रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।