काठमाडाैं- अमेरिकी अर्बपति बिल गेट्स र मेलिन्डा गेट्सले वैवाहिक सम्बन्धको अन्त्य यसै महिनाको सुरुवातमा गरेका थिए।
२७ वर्षे उनीहरुले सम्बन्ध के कारणले टुक्रियो भन्ने खुलेको छैन्। तर, यतिबेला बिलको परस्त्रीसँग सम्बन्ध रहेको खुलेकाे छ।
वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सन् २०१९ मा बिलले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिनुको कारण परस्त्रीसँगको सम्बन्ध थियो।
सीएनएनका अनुसार माइक्रोसफ्टकै एक महिला कर्मचारीले बिल र आफूबीच वर्षौदेखि यौन सम्बन्ध रहेको चिठीमा लेखेकी थिइन्।
ती महिलाले माइक्रोसफ्टको रोजगारीमा परिवर्तन चाहिएको बताउँदै आफ्नो र बिलको सम्बन्ध मेलिन्डालाई थाहा होस् भनेर मेलिन्डालाईसमेत चिठी पढ्न भनेकी थिइन्।
तर, मेलिन्डाले उक्त चिठी पढिन् या पढिनन् केही जानकारी छैन। यो घटनापछि माइक्रोसफ्टको बोर्ड सदस्यले ती महिलासँग बिलको सम्बन्ध छ या छैन भनेर वकिल बोलाएको समाचारमा उल्लेख छ।
अनुसन्धानका क्रममा बिलले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिनुपर्ने आवाज उठेको थियो, तर बिल फेरि माइक्रोसफ्टको बोर्ड सदस्यमा नियुक्त भएका थिए।
‘अनुसन्धानको क्रममा केही बोर्ड सदस्यहरूले बिल कम्पनीमा निर्देशकको रूपमा बस्नु उचित हुँदैन भनेर आवाज उठेकाे थियाे,’ जर्नलमा भनिएको छ,‘ त्यसपछि बिलले अनुसन्धान पूरा हुनु अघि नै दशकौंसम्म चलाएको र नेतृत्व गरेको कम्पनीबाट राजीनामा दिएका थिए।’
यद्यपि, अनुसन्धान पुरा हुनुपूर्व नै उनले बोर्ड सदस्यबाट राजीनामा दिँदै आफू समाजसेवामा लाग्ने बताएका थिए।
अनुसन्धान समाप्त भएपछि सन् २०१९ को मध्य समयमा बिल र एक महिला कर्मचारीको सन् २००० मा अफेयर भएको पाइएको थियो।
तर, सो अफेयर सहमतिमै टुंगिएको माइक्रोसफ्टको प्रवक्ताले बताएका छन्। बिलकी प्रवक्ताले समेत २० वर्ष अगाडिको अफेयर त्यहीबेला टुंगिएको बताइन्।
‘करीब २० बर्ष अघि एउटा सम्बन्ध भएको थियो जुन खुशीसाथ समाप्त भयो। बिलले बोर्डबाट राजीनामा दिने निर्णय यस विषयसँग कुनै सम्बन्धित थिएन। उनले धेरै वर्ष अघि आफूले परोपकारी कार्यमा बढी समय खर्चिने निर्णय गरेका थिए।’
बिलको विषयमा अनुसन्धानपछि माइक्रोसफ्ट भित्र हुने महिला हिंसाबारे अनुसन्धान भएको थियो। सो अनुसन्धानपछि कम्पनीको कार्यकारी प्रमुख सत्या नाडेलाले यस विषयमा कम्पनी गम्भीर हुने बताएका छन्।
वाल स्ट्रिट जर्नलले बिल गेट्सले विवाहपछि पनि अन्य महिलाहरुलाई शारीरिक सम्बन्धमा बस्न भनेर लोभ्याएको उल्लेख गरेको छ।
गेट्सको यस्तो व्यवहारको बारेमा कर्मचारीहरुलाई थाहा भएको माइक्रोसफ्टका पूर्व ६ कर्मचारीहरुले पनि बताएका छन्।
यद्यपि, यो विषयमा मेलिन्डालाई थाहा छ कि छैन भनेर केही खुलाइएको छैन।तर, बिलका प्रवक्ताले यही कारणले बिल र मेलिन्डाको सम्बन्ध अन्त्य नभएको जिकिर गरेकी छिन्।
‘यो अत्यन्त निराशाजनक छ कि बिलको सम्बन्धविच्छेदको कारण, परिस्थिति र समयसम्बन्धी यति धेरै असत्य खबर प्रकाशित भएको छ,’ उनले भनिन्,‘ कर्मचारीहरुसँग दुर्व्यवहारको दाबी पनि गलत छ र बिलको सम्बन्धविच्छेद वरिपरिको अफवाहहरु र अनुमानहरु बेतुक हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।