काठमाडौं- मिस युनिभर्स प्रतियोगितामा मिस म्यानमार थुजार विन्ट ल्विनले विश्वलाई बर्मेली सेनाले गरेको ‘कू’ विरुद्ध बोलिदिन आग्रह गरेकी छिन्।
स्थानिय समयअनुसार आइतबार बिहान अमेरिकाको फ्लोरिडास्थित हार्ड रक होटल एन्ड क्यासिनोमा भएको ६९औं मिस युनिभर्स प्रतियोगितामा म्यानमारमा फ्रेबुअरी १ देखि सेनाले गरेको ‘कू’ विरुद्ध बोलिदिन आग्रह गरेकी हुन्।
‘सेनाले सत्ता कब्जा गरेदेखि सयौं विरोधीहरूलाई मारिएका छन्। सेनाले उनीहरुलाई गोली हान्छन्। हाम्रा मानिसहरू दिनहुँ मर्दैछन्। त्यसैले म सबैलाई म्यानमारबारे बोल्न आग्रह गर्छु,’ उनले भनिन्।
प्रतियोगिता अमेरिकी कलाकार मारियो लोपेज र टेलिभिजन प्रस्तोता ओलिभिया कुल्पोले सञ्चालन गरेका थिए। पूर्वमिस युनिभर्सहरू चेस्ली क्रिस्ट, पौलिना भेगा र डेमी लिइग टेबोहरू प्रतियोगिताका विश्लेषक थिए।
आफ्नो देशमा चलिरहेको द्वन्द्वबारे बोल्दै ल्विनले स्टेजको ध्यान खिच्न सफल भएकी थिइन्।
‘म सबैलाई म्यानमारको बारेमा बोल्न आग्रह गर्दछु। मिस युनिभर्समा म्यानमारको प्रतिनिधित्व गरेसँगै र देशमा विद्रोह शुरु भएदेखि नै मैले सकेसम्म बोलेको छु,’ उनले भनिन्।
प्रतियोगिताको टप–२१ सम्म पर्न सफल उनले सबैभन्दा उत्कृष्ट राष्ट्रिय पोशाकको उपाधि जितेकी थिइन्।
जुन उत्तरपश्चिम म्यानमारका चीन जातिको पोशाकमा हो। चीन राज्यमा हालसालै सेना र एन्टी जुन्ता मिलिशिया लडाकुहरूबीच द्धन्द्ध शुरु भएको छ।
बिहीबार उक्त पोशाकसँगै उनले ‘प्रे–फर म्यानमार’ लेखेको पर्चा देखाएकी थिइन्।
ल्विनसँगै दर्जनौं म्यानमारका हस्ति, अभिनेता, सोशल मिडिया अभियानकर्ता र खेलाडीहरुले सेनाको कदम र नेतृ आङ साङ सुचीको पक्राउविरुद्ध विरोध गरिरहेका छन्।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार सेनाले ‘कू’ गरेसँगै म्यानमारमा ७९० जनाले ज्यान गुमाइसकेका छन्।
यस्तै ५ हजारभन्दा बढी पक्राउ परेका परेका छन्। त्यसमध्य करिब हजार प्रदर्शनकारी रिहा गरिएको छ भने अझै सेलिब्रेटीहरूसहित ४ हजार थुनामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।