दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा पोष्टर भारतमा निकै भाइरल बनेको छ।
भारत सरकारले भारतमै रहेका मानिसलाई काेराेनाविरुद्धकाे खाेप प्रदान गर्न नसकेको अवस्थामा विदेश निर्यात गरिनु व्यवहारिक कार्य नभएको भन्दै उनकाे आलाेचना गर्न थालिएकाे हाे।
उक्त पोष्टर पोस्ट गर्ने र बोक्ने मानिसलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट नियन्त्रणमा लिन थालेको छ। विपक्षी दल काँग्रेस आईका लोकसभा सांसद तथा पूर्वअध्यक्ष राहुल गान्धीले उक्त पोष्टर पोस्टसहित ट्वीट गरेका छन्।
सो पोष्टरमा प्रश्न गरिएको छ,'मोदी जी, हाम्रो बच्चाको भ्याक्सिन विदेशमा किन पठाएको?' उनले आफूलाई पक्राउ गर्नपनि खुला चुनाैती दिएका छन्। उनले लेखेका छन्, 'मलाई पनि पक्रनुहोस्।'
राहुलका बहिनी तथा काँग्रेसका महासचिव प्रियंका गान्धीले पनि सो पोष्टर सेयर गरेर पोष्टरलाई आफ्नो ट्विटरको प्रोफाइल पिक्चर बनाएकी छिन्।
यसअघि आम आद्मी पार्टीले आफ्नो आधिकारिक ट्विटरमा सोही पोष्टर सेयर गर्दै पोष्टर सेयर भएपछि भारतको केन्द्रीय सरकारको प्रणालीमा तहल्का मच्चिएको बताएको थियाे।
के हाे घटना?
दिल्लीमा बिहीबार काराेनाविरुद्धकाे खोप अभियानबारे प्रधानमन्त्री मोदीको आलोचना गर्नेखालका पोष्टरहरू थुप्रै ठाउँमा भेटिए। विवादमा रहेको पोष्टरहरूमा यस्तो लेखिएको थियो -'मोदी जी, हाम्रो बच्चाको भ्याक्सिन विदेशमा किन पठाएको?'
विशेष शाखाले दिल्ली प्रहरी कमिश्नर एस एन श्रीवास्तवलाई उक्त पोष्टरहरूको बारेमा जानकारी गरिसकेको थियो। त्यसपछि दिल्ली प्रहरीले १२ मेको रातदेखि नै कारबाही सुरु गर्यो। यसअन्तर्गत कम्तिमा पनि २५ जना पक्राउ परेका छन्।
दिल्ली प्रहरीले पक्राउ गरेका धेरैजसो मानिसहरू गरिब र बेराेजगार व्यक्ति हुन्। जसले यी पोष्टरहरू दैनिक ज्यालाका लागि लगाउँदै हिँडेका थिए। उनीहरुलाई यस्ताे समयमा पक्राउ गरिएकाे छ जब राजधानी दिल्लीका महामारीलाई अन्त्य गर्न संघर्ष गरिरहेकाे छ।
इन्डियन एक्सप्रेसका अनुसार पक्राउ परेका व्यक्तिहरूले दुई दिनको खानाकाे व्यवस्था गर्न पोष्टर लगाएका थिए।
पक्राउ परेका परिवारका सदस्यहरूका अनुसार उनीहरुलाई ती राजनीतिक पोष्टर थिए कि थिएनन् भनेर पनि थाहा थिएन। उनहरुले केवल दुई छाक टार्न पोष्टर लगाएका थिए।
एफआईआरहरू धारा १८८ (सार्वजनिक कर्मचारी आदेशको सम्मान), धारा २६ (महामारीको बेला लापरवाही र संक्रमणको डर) र दिल्ली रोकथाम ऐन र आईपीसीको महामारी ऐन अन्तर्गत उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ।
घटनाकाे अनुसन्धान गरिरहेका दिल्ली प्रहरीका केही अधिकारीहरूका अनुसार यी कामका लागि छानिएका व्यक्ति मुख्यत: पोष्टर छाप्ने र टाँस्ने काम गरेका थिए।
यद्यपि, यस पोष्टर छाप्न लगाउने मुख्य व्यक्ति को हो भनेर अझै अनुसन्धान भइरहेकाे छ। एक वरिष्ठ अधिकारीका अनुसार पक्राउ परेका व्यक्तिलाई जमानतमा रिहा गरिएको छ।
दिल्ली प्रहरीका एक वरिष्ठ अधिकारीले भने, 'देवेन्द्रकुमार ठेकेदार हुन्। यस कामका लागि पन्ध्र हजार रुपैयाँ पाएका थिए। उनले आफ्नै प्रिन्टिङ प्रेस चलाउने गरेकाे खुलेकाे छ। उनलाई पोष्टर प्रिन्ट गर्न आदेश दिइएकाे थियाे।'
दिल्लीमा कोरोना भाइरसको संक्रमण न्युनिकरणकाे लागि एक साताको लागि लकडाउन थप गरिएकाे छ।
मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार जारी लकडाउनलाई मे २४ बिहानसम्मको लागि लम्ब्याउने घोषणा गरेका हुन्। योसँगै दिल्लीमा चाैथाे पटक लकडाउन थपिएको छ। अहिले जारी लकडाउन सोमबार बिहान ५ बजे सकिँदै थियो।
सुरूमा दिल्लीले अप्रिल १९ मा सप्ताहन्ता कर्फ्यू जारी गरेको थियो। तर, त्यसको भोलिपल्ट देखिनै लकडाउन लम्ब्याइएको थियो।
'लकडाउन अर्को हप्ता सोमबार बिहान ५ बजेसम्मको लागि लम्ब्याइएको छ,' मुख्यमन्त्री केजरीवालले भने।
पछिल्ला केही दिनयता दिल्लीमा कोरोना भाइरसका संक्रमित घट्न थालेका छन्। यद्यपि, संक्रमित हुनेको संख्या ५ प्रतिशतभन्दा माथि नै छ।
पछिल्लो २४ घण्टामा ६ हजार ५ सय नयाँ संक्रमित दिल्लीमा थपिएका छन्। यस्तै, पोजेटिभ हुने दर ११ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।