काठमाडाैं- इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष सातौं दिन पनि जारी छ।
आइतबार बिहान इजरायलले गाजामा रहेका हमास प्रमुखको घरमा लक्षित गरेर बम विष्फोट गरेका छन्। त्यसको लगत्तै इजरायलको सीमाना रहेका सहरमा रकेट हमलाको चेतावनीस्वरुप साइरन बजाइएकाे छ। यद्यपि, के कति क्षति पुग्याे भनेर खुलाइएकाे छैन।
इजरायल र प्यालेस्टाइनबीच हिंसाको लगातार सातौं दिन हो र यो हिंसा अहिले पनि जारी छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबारदेखि गाजाका विभिन्न स्थानमा भएकाे आक्रमणमा परी कम्तिमा १५३ जनाको मृत्यु भएको छ। मर्नेहरूमा ४२ जना बालबालिका पनि छन्।
इजरायली पक्षका केही नागरिकहरुकाे पनि मृत्यु पनि भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलमा दुई बालबालिकासहित १० व्यक्तिको मृत्यु भएको छ।
यसलाई प्यालेस्टाइन र इजरायलको वर्षौंदेखि चलिरहेको संघर्षको सबैभन्दा नराम्रो चरण भनिएको छ।
यसबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आज बैठक आह्वान गरेकाे छ। यसभन्दा अघि संयुक्त राष्ट्रसंघले बिहीबार हुने सुरक्षा परिषद्को बैठक रोकेको थियो। यो बैठक चीनको तर्फबाट बोलाइएको थियो।
प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासले संयुक्त राष्ट्रसंघलाई यस विषयमा हस्तक्षेप नगर्न आग्रह गरेका छन्।
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका हमास नेतृत्वसँगको लडाइँ अन्त्यका लागि ‘समय लाग्ने’ बताएका छन्।
'यसले समय लिनेछ तर, दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा – इजरायलमा शान्ति पुनः स्थापना गर्ने क्रममा हामी छिट्टै हाम्रो लक्ष्य प्राप्त गर्नेछौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।