काठमाडाैं- इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले शनिबार साँझ १२ तल्ले अपार्टमेन्ट (गाजा टावर) ध्वस्त पारेकाे छ। केहीदिनयता इजरायलले गाजामा 'एयर स्ट्राइक' गर्दै आइरहेको छ। जसमा धेरै भवनहरु भत्किएका छन्।
इजरायलले हमास समूहलाई लक्षित गरेर आक्रमण गरेको बताएपनि मिडिया रहेका भवनहरु निशानामा परेका छन्। यसैक्रममा अमेरिकी मिडिया एसोसिएट प्रेस (एपी) र कतारी मिडिया हाउस अलजजीरालगायतका धेरै समाचार समूहहरूको कार्यालयलाई लक्षित गरेर हवाई आक्रमण गरिएकाे छ।
आईडीएफका अनुसार आक्रमण अघि यहाँ रहेका मानिसहरूलाई भवन खाली गर्न भनिएकाे थियाे। त्यसकाे ठीक एक घण्टा पछि इजरायल सेनाले विमानमार्फत् बम खसालेकाे हाे। केही सेकेन्डमै १२ तल्ले भवन ध्वस्त भएकाे थियाे।
आईडीएफले भनेकाे छ, 'हमासको राजनीतिक शाखा (इजरायलले यसलाई आतंकवादी संगठन मान्छ)काे गाजा टावरमा रहेको कार्यालय थियो। जुन आक्रमण गरी ध्वस्त पारियो।' इजरायली सेनाले हमासले मिडियालाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ।
इजरायल र हमासबीच चलिरहेको युद्धमा अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ। तीमध्य ३१ जना बालबालिका रहेका छन्। दुबै पक्षको आक्रमणमा ९५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
यता, इजरायल पक्षका भने ९ जनाकाे मृत्यु भएकाे छ।
हमासले २३ सयभन्दा बढी प्रहार गर्याे रकेट
आईडीएफका अनुसार इजरायलबाट गाजा पट्टीमा शुक्रबार राति ७ देखि शनिबार बिहान ७ बजेसम्म २०० वटा रकेट प्रहार गरिएकाे थियाे। तीमध्य १०० भन्दा बढी आकासमै नष्ट गरिएकाे छ। यी रकेट इजराइली क्षेत्रमा झर्नेवाला थियाे। ३० रकेट मिसफाइर भएर गाजामा खसेकाे छ।
तीमध्य एक गलत मिसफाइर भएर सिरियामा खसेकाे थियाे। सिरियाली पक्षले पनि शनिबार इजरायलमा ३ रोकेट प्रहार गरिएकाे थियाे। अहिलेसम्म हमासले २३ सय बढी रकेट इजरायलतर्फ प्रहार गरेका छन्।
दंगामा ९ प्यालेस्टाइन मारिए
इजरायलको केही क्षेत्रहरुमा यहुदी र अरबी मुसलमानहरु बसोबास गर्दछन्। उनीहरुबीच पनि हिंसा मच्चिएको बताइएको छ।
प्यालेस्टाइनको स्वास्थ्य विभागका अनुसार शुक्रबार दंगामा करीब ९ जना मारिएका थिए।
आईडीएफले आफ्नो विज्ञप्तिमा भनेकाे छ, 'गाजा क्षेत्रबाट बाेहक इजरायलमा पश्चिमी किनारबाट ढुङ्गा र बम फ्याँकिरहेका छन्।'
आईडीएफका अनुसार तीन हजारभन्दा बढी प्यालेस्टाइन दंगामा संलग्न छन्। दंगाको सबैभन्दा बढी घटनाहरू जेरूसेलम, लाेड, हाइफा र सखानिनमा रहेका छन्।लाेड शहर आपतकाल लागू गरिएकाे छ। सन् १९६६ पछि यो क्षेत्रमा पहिलो पटक आपतकाल घाेषणा गरेकाे हाे।
राष्ट्रसङ्घले बैठक डाक्याे
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र प्यालेस्टाइनको मुद्दाबारे छलफल गर्न आइतबार सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
उनले यस विषयमा शक्तिशाली देशहरू मौन बसेकाे भन्दै दुःख व्यक्त गरे। यस मुद्दाको लागि राजनीतिक समाधान खोज्नुपर्ने उनले तर्क गरेका छन्।
यसभन्दा अघि संयुक्त राष्ट्रसंघले बिहीबार हुने सुरक्षा परिषद्को बैठक रोकेको थियो। यो बैठक चीनको तर्फबाट बोलाइएको थियो। प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासले संयुक्त राष्ट्रसंघलाई यस विषयमा हस्तक्षेप नगर्न आग्रह गरेका छन्।
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका हमास नेतृत्वसँगको लडाइँ अन्त्यका लागि ‘समय लाग्ने’ बताएका छन्।
'यसले समय लिनेछ तर, दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा – इजरायलमा शान्ति पुनः स्थापना गर्ने क्रममा हामी छिट्टै हाम्रो लक्ष्य प्राप्त गर्नेछौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।