काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईपक्षले पार्टीको संसदीय दलको नेता चयन नभएको बताएको छ। पार्टीका केन्द्रीय कार्यकारिणी समितिका प्रकाश अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
विज्ञप्तिमा पार्टीको संसदीय दलको नेता चयन भएको भनी सञ्चारमाध्यममा आएको समाचारमा सत्यता नभएको दाबी गरिएको छ।
पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोपक्षको बैठकले शुक्रबार पार्टीको संसदीय दलको नेतामा महतोलाई चयन गरेको थियो।
'जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक वैशाख ३१ गते सम्पन्न भई सो बैठकले पार्टीको संसदीय दलको नेता चयन गर्यो भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमासमेत समाचारहरु सम्प्रेषण भएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' उपेन्द्र-बाबुरामपक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पार्टी संसदीदय दल हालसम्म समायोजन नभएको, दलको विधानसमेत नबनेको तथा पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदन हुनुपर्नेमा हालसम्म नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।