काठमाडौं– विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा कांग्रेसको संस्थापन पक्षले जवाफ फर्काएको छ । ८ बुँदामध्ये ३ बुँदा स्वीकार गर्न नसकिने पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जनाएका छन् ।
महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न संस्थापन पक्ष तयार नभएको हो। यसैगरी देउवा निष्क्रिय हुने प्रस्तावलाई पनि खड्काले खारेज गरेका छन् । सभापतिको अपमानजनक बहिर्गमन मान्न नसकिने उनको जवाफ छ ।
यस्तै सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठनबारे पनि खड्काले असहमति जनाएका छन् । संस्थापन पक्षसँग भएका वार्ता र छलफलहरू टुंगोमा नपुगिरहेको पृष्ठभूमिमा विशेष महाधिवेशन पक्षधरहरूले ८ बुँदे प्रस्ताव पठाएको थियो ।
विशेष महाधिवेशन पक्षधरहरूले पठाएको ८ बुँदे प्रस्तावमा कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने र प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गरेर जानुपर्ने लगायतका विषय समेटिएका छन् ।
८ बुँदे प्रस्तावमा विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिनुपर्ने, कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्नेदेखि टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्नेसम्मका विषय समेटिएका छन् । विशेष महाधिवेशन पक्षधरहरूले पठाएको प्रस्तावमा टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने देखि उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउनेसम्मका विषय समेटिएका छन्। त्यस्तै, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्नुपर्ने कुरा पनि उक्त प्रस्तावमा उल्लेख गरिएको छ।
प्रस्तावमा सबै बुँदा कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने र जसमा कार्यवाहक सभापति, २ महामन्त्री र थप २ नेता रहने कुरा पनि उल्लेख गरिएको छ। सहमति खोज्नका निम्ति मंगलबार दिनभर र बुधबार बिहानैदेखि जारी वार्ता निष्कर्षमा पुग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।