काठमाडौं – विशेष महाधिवेशनले संकटको अवस्थामा पुगेको कांग्रेसले एकताका लागि छलफललाई अघि बढाउने भएको छ ।
विशेष महाधिवेशनले आफू नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेसँगै सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरुसँग छलफल गरेका छन् ।
आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तयार भएका हुन् ।
देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीद्वयसँग सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले संवाद गर्ने बताए ।
‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धितसँग संवाद गर्ने निष्कर्ष निकालियो,’ उनले भने ।
त्यस्तै कोही पनि पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाउन सभापतिले छलफल थालेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।