काठमाडौं– नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच पहिलो चरणको वार्ता सकिएको छ।
पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए । पहिलो चरणमा दुवै पक्षले आआफ्ना कुरा राखेपनि कुनै सहमति नभई वार्ता सकिएको विशेष महाधिवेशन पक्षधरबाट वार्तामा खटिएका मधु आचार्यले जानकारी दिए ।
‘पहिलो चरणको वार्तामा कुनै सहमति जुट्न सकेन’, आचार्यले भने, ‘दुवै पक्षले आआफ्ना प्रस्ताव राखेका छौ तर सहमति भएन ।’आचार्यका अनुसार दोस्रो चरणको वार्तामा बस्ने नबस्ने भन्ने नेताहरूसँग कुरा गरेपछि टुंगो लाग्नेछ ।
एजेण्डागत रुपमा दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।
भृकुटीमण्डपको विशेष महाधिवेशनमा अहिले बन्द सत्र जारी छ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा ९ वटा समितिमा छलफल गरी अहिले समूहको निष्कर्ष सुनाइरहेका छन्।
बन्द सत्रले पार्टीको पुरानो निर्वाचन समिति भंग गरी पाँच सदस्यीय नयाँ निर्वाचन समिति गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।