काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच देउवा निवास महाराजगञ्जमा भएको छलफल सकिएको छ ।देउवा निवासमा भएको भेटमा कुनै ठोस निर्णय भएन ।
छलफलमा महामन्त्रीद्वयले सभापति देउवालाई निष्क्रिय हुन आग्रह गरेका थिए । तर सभापति देउवाले मुन्टो हल्लाए पनि कुनै जवाफ नफर्काएको महामन्त्रीहरूको भनाइ छ ।
'तपाईं निष्क्रिय हुनुस्। सिंगापुर जानुपूर्व जे भन्नुभएको थियो, त्यो कार्यान्वयन गर्नुस्,' दुई महामन्त्रीले सभापति देउवालाई भनेका थिए।
देउवाको भनाइ उदृत गर्दै एक नेताले भने, ‘राष्ट्रिय सभामा मेरो हस्ताक्षरबाट साथीहरूले उम्मेदवारी दर्ता गरिसक्नु भएको छ । प्रतिनिधिसभाको बन्द सूचीमा पनि मेरै हस्ताक्षर गएको छ । अब प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुनअसार बनाउन मिल्छ भने म तयार छु ।’
छलफलमा सभापति देउवाले महामन्त्रीद्वयसँग आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने भनेर केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेको र त्यसपछि आफूले नेतृत्व छाड्ने घोषणा गरिसकेको बताएका थिए ।
उनले अगाडि भने, ‘नेतृत्वबारे वैशाखमा महाधिवेशन गर्ने भनेर केन्द्रीय कार्यसम्पादनले निर्णय गरिसकेको छ । मैले नेतृत्व छोड्ने सार्वजनिक रूपमै भनिसकेको छु । विधान अनुसार पनि उम्मेद्वार बन्न मिल्दैन । तीन महिनामा हुने के नै छ र ?’
देउवासँगको वार्ताले निकास निकाल्न नसकेकाले अब निर्वाचन प्रक्रिया अघि बढाउने विशेष महाधिवेशन पक्षको भनाइ छ।
मंगलबार संस्थापन र शेखर कोइराला पक्षले विशेष महाधिवेशन पक्षसँग मंगलबार दिनभर वार्ता गरेको थियो।
वार्ता चरणबद्ध बसे पनि बिनानिर्णय टुंगिएको थियो।
सभापति शेरबहादुर देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्छ भन्ने विशेष महाधिवेशन पक्षको 'बटमलाइन' मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन भएको थियो।
आज उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बुधबार बिहानै छलफलका लागि बोलाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।