काठमाडौँ – प्रधानमन्त्री सुशीलाका कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापति, विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव, सचिवहरू, विभागीय प्रमुखहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । प्रवचनमा स्वजागरणलाई आन्तरिक चेतना, अनुशासन र जिम्मेवारीसँग जोडिएको जीवन पद्धतिका रूपमा प्रस्तुत गरिएको थियो ।
स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माणमा सहयोग पुर्याउने तथा मुलुकमा सुशासन स्थापनामा योगदान दिन सक्ने अपेक्षा कार्यक्रममार्फत व्यक्त गरिएको थियो ।
नेपालमा भएका विविध सामाजिक तथा राजनीतिक आन्दोलनहरू र जेन–जी पुस्ताबाट उठिरहेको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै स्वजागरणलाई सबै तहमा संस्थागत गर्दै दैनिक जीवनको हिस्सा बनाउनु आवश्यक रहेको धारणा कार्यक्रममा राखिएको थियो ।
स्वजागरणलाई आध्यात्मिक अभ्यासमा सीमित नराखी व्यक्तिलाई आन्तरिक रूपमा शान्त र खुसी बनाउने तथा बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र सचेत नागरिक निर्माणमा उपयोगी जीवन पद्धतिका रूपमा विकास गर्नुपर्ने विषयमा कार्यक्रममा जोड दिइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।