काठमाडौं– सरकारले कोरोना नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको १६ दिन भइसेको छ। बैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा जेठको १५ गतेसम्म जारी रहने निर्णय भइसकेको छ।
निषेधाज्ञा लागू भएको केही दिनपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए। निजी तथा सार्वजनिक सवारीको आवागमन पनि बन्द छ। तर, सामान ढुवानीका लागि कार्गो उडान भने भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मे १ देखि १४ सम्म गरी १४ दिनमा विश्वका विभिन्न देशबाट ३ लाख ६७ हजार ४ सय ८९ केजी सामान नेपाल भित्रिएको छ। यसैगरी नेपालबाट विश्वका विभिन्न देशमा ४ लाख ८ सय ८४ केजी सामान निर्यात भएको छ।
अन्तर्राष्ट्रिय उडान तथा चार्टर उडान मार्फत कुल ७ लाख ६८ हजार ३ सय ७३ केजी सामान ओसारपसार भएको छ। यो बीचमा आयात गरिएको सामानमध्ये धेरैजसो मेडिकल सामाग्री तथा अक्सिजन सिलिन्डर रहेको छ।
विमानस्थल कार्यालयका अनुसार मे १४ मा ५० हजार २ सय ९०, मे १३ मा १ हजार ९ सय ४ , मे १२ मा ६४ हजार ४ सय ७४, मे ११ मा ४३ हजार ९ सय ८८ र मे १० मा १२ हजार २ सय केजी सामान विश्वका विभिन्न ठाँउबाट हवाई मार्गमार्फत नेपाल भित्रिएको थियो।
यसैगरी, मे ८ मा ३६ हजार ३ सय ८८, मे ७ मा २२ हजार ९ सय ४९, मे ६ मा ३० हजार ८ सय ३४, मे ५ मा ३६ हजार ५ सस ८, मे ४ मा २५ हजार ६ सय १५, मे ३ मा २७ हजार ८२, मे २ मा ४३ हजार २ सय २८ र मे १ मा २४ हजार २ सय २२ केजी सामान अन्तर्राष्ट्रिय उडान तथा चार्टर उडानबाट नेपाल भित्रिएको छ।
१४ दिनमा अन्तर्राष्ट्रियतर्फ २ सय ८७ वटा उडान
काठमाडौं उपत्यकामा निषेधाज्ञा १६ गतेबाट सुरु भएपनि अन्तर्राष्ट्रिय उडान भने त्यसको एक साता पछिबाट मात्रै बन्द भएको थियो। अन्तर्राष्ट्रिय उडानतर्फ भारतको दिल्लीमा भने एयर बबल उडान सम्झौता अनुसार सातामा २ वटा उडान भइरहेका छ।
एउटा नेपाल एयरलाइन्स र एउटा एयर इन्डियाले नेपाल–भारत उडान भर्दै आएका छन्। अन्तर्राष्ट्रिय उडान मे ३१ सम्मका लागि बन्द छ।
तर, विदेशी नागरिकको उद्धारमा चार्टर उडान तथा सामान आयातमा कार्गो उडान भने नरोकिने गरी व्यवस्था मिलाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सोहीअनुसार अहिले विदेशी नागरिक उद्धार उडान शुरु भएइसकेको छ। शुक्रबार मात्रै थाइ राजदूतावासको आग्रहमा श्री एयरलाइन्सले थाइल्यान्डका नागरिकको उद्धार गरेको थियो।
यस्तै १६ मे र २५ मेमा कतार एयरवेजबाट अमेरिकन नागरिकको उद्धार उडान हुने छ भने यसै बीचमा टर्किस एयरले पनि एक चार्टर उडानमार्फत अमेरिकन नागरिकको उद्धार गर्ने छ।
यसैगरी नेपालमा रहेका भारतीय नागरिलाई साउदी अरब जान दिने प्रयोजनका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि साउदी अरब उडान गर्नेछन्।
यसैगरी नेपाल एयरलाइन्सले सिलिन्डर लगायत मेडिकल उपकरण आयातका लागि चीन लगायतका देशमा चार्टर उडान गर्दै आएको छ।
अहिले पनि दैनिक रुपमा केही चार्टर उडान भइरहेको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए।
उनका अनुसार १४ दिनमा मात्रै २ सय ८७ वटा उडान तथा अवतरण भएको छ। जसमा १ सय ४९ वटा अवतरण तथा १ सय ४८ वटा उडान भएको छ।
हवाई उडानमार्फत साढे २४ हजारले छाडे नेपाल
विमानस्थल कार्यालयका अनुसार मे १ देखि १४ तारिकसम्ममा झन्डै २४ हजार भन्दा बढीले नेपाल छोडेका छन्।
कार्यालयका अनुसार १४ दिनमा १ सय ४८ वटा उडान मार्फत २४ हजार ४ सय ९३ जनाले नेपाल छोडका छन्।
यसैगरी, १४ दिनकै अवधिमा १ सय ४९ अवतरणबाट १० हजार ६ सय ३९ जना नेपाल प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।