काठमाडौ–सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ललितपुर र काठमाडौका केही अक्सिजन उद्योगमा उत्पादन अबस्था बारे अनुगमन गरेका छन्।
अनुगमनका क्रममा राज्यमन्त्री मानन्धर ललितपुरको सगरमाथा अक्सिजन उद्योगमा पुगेर त्यहाँको उत्पादन अवस्था बारे जानकारी लिएका थिए।
उक्त उद्योगले दैनिक ९ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेकोमा मन्त्री मानन्धरले अधिकतम क्षमतामा उत्पादन गर्न निर्देशन दिए।
कोरोना संक्रमितको उपचारका लागि मुलुकभर अक्सिजनको अभाव भएको बताउँदै मन्त्री मानन्धरले जनताको जीवन रक्षाका लागि अति आवश्यक अक्सिजन उत्पादन र वितरण सहज बनाउन सरकार लागि परेको बताए।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले हरेक उपायहित उपचार सहज बनाउनेतर्फ ध्यान दिएको बताउँदै मन्त्री मानन्धरले संक्रमितको संख्या अधिक हुँदा बेड अभाव भएको बताए।
सरकारले सबै सरकारी अस्पतालहरुमा कोभिड उपचारको प्रवन्ध मिलाएको बताउँदै मानन्धरले निजी क्षत्रका अस्पतालहरुमा पनि सुलभ रुपमा नागरिकको उपचारको प्रवन्ध गर्न सरकारले पहल गरेको बताए। मन्त्री मानन्धरले अक्सिजन अभावको समस्या केही दिन भित्र समाधान हुनेगरी काम भइरहेको दाबी गरे।
मन्त्री मानन्धरले बालाजुमा रहेको अक्सिजन उद्योगमा पनि उत्पादन अवस्था बारे अनुगमन गरेका छन्। अक्सिजनको समस्या समाधानका लागि सबैको पहल र सहयोग आवश्यक रहेको बताउँदै मन्त्री मानन्धरले आफू पनि समस्या समाधानका लागि फिल्डमै खटिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।