नेपालगञ्ज- बाँकेका किसानले उत्पादन गरेका गोलभेँडा बिक्री नहुँदा बारीमै कुहिन थालेका छन्।
कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेँडा खेतमै कुहिएको हो। सवारीसाधन सञ्चालन नभएपछि बारीमा गोलभेँडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन्।
उत्पादित तरकारी बजारसम्म लैजान नसक्दा किसानहरु दोहोरो मारमा परेका छन्। दैनिक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैंकबाट लिएको ऋणको ब्याज पनि तिर्न नसक्ने अवस्था सिर्जना भएको छ।
वैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुसालले उत्पादन गरेको गोलभेँडा बिक्री नहुँदा ११ लाख रूपैयाँ बराबरको घाटा लागेको बताए। गोलभेँडा बिक्री गर्ने समयमा जिल्लामा निषेधाज्ञा जारी भएपछि आफ्नो सम्पूर्ण लगानी डुबेको भुसाल बताउँछन्।
उनले कृषि विकास बैंकबाट ५ लाख रूपैयाँ ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती शुरु गरेका थिए।
बिनोद भुसालको तरकारी खेती छेउमै चन्द्र चौधरीले खेती गरेका छन्। चौधरी आफैं पनि गाउँको अगुवा किसानमध्ये एक हुन्। चौधरीले माछा, बंगुर र तरकारी खेती समेत गर्दै आएका छन्। व्यावसायिक तरकारी खेतीमा लागेको भएपनि बजार व्यवस्थापन हुन नसक्दा समस्या भएको उनी बताउँछन्।
व्यावसायिक तरकारी खेतीका लागि विधिवत फर्म दर्ता गराएका अधिकांश किसानले सरकारबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन्। बल्लतल्ल ऋण लगानी गरेर उत्पादन भएको तरकारीको समेत सरकारले बजार प्रवन्ध नगरिदिँदा समस्या भएको उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।