काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले कोभिड-१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य सञ्चालन गर्न कठिन भएको बताएको छ।
महासंघले निर्माण सामग्री ढुवानीलगायत कार्यका लागि प्रयोग भएका गाडीहरूलाई ठाउँ-ठाउँमा रोक्न लगाइएको र सहज रूपमा पाससमेत उपलब्ध नगराउँदा समस्या भएको जनाएको छ।
निर्माण सामग्रीका केही उद्योगहरू खुलेता पनि तिनका डिलर, वितरक पसलहरू बन्द रहेका कारणले निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको समस्या विकराल बन्दै गइरहेको महासंघको भनाइ छ।
‘निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामग्रीहरूमा गरिएको चर्को मूल्यवृद्धितर्फ पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघका महासचिव रोशन दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
वैशाख २१ गते सीसीएमसीले जारी गरेको सूचनामा विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरूले नै आवासीय कामदार राखी अनिवार्य रूपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्ने गराउने उल्लेख भएता पनि श्रमीकहरू काम गर्न डराउने स्थिति उत्पन्न भएको महासंघको भनाइ छ। सडक, सिँचाइका कार्यहरू तोकिएकै सीमित स्थानमा नहुने भएकोले संक्रमण सर्ने त्रास रहने र कतिपय स्थानमा संक्रमण फैलने डरले विशेषगरी सहरी क्षेत्रका र साना तथा मझौला निर्माणस्थलमा जनघनत्व हुने भएकाले निर्माण कार्य गर्न कठिन हुने देखिएको महासंघले जनाएको छ।
‘विहान काममा जाने तथा बेलुका निवासमा जाने गरेका कैयन कामदारहरू यस्ता प्रकृतिका हुने गरेका, निर्माण सामग्री ढुवानी लोड अनलोड इत्यादि गर्दा एक अर्कासँग प्रत्यक्ष सम्पर्क हुने हुँदा र निर्माणस्थलमा खटिएका कोही कसैको संक्रमणले गर्दा मृत्यु भएमा वा संक्रमण भएकाको उपचारमा लाग्ने खर्चका कारण निर्माण व्यवसाय क्षेत्रले क्षति व्यहोर्नुपर्ने स्थिति आएको छ,’ महासंघको भनाइ छ, ‘कतिपय स्थानमा संक्रमण फैलिने डरका कारण स्थानीयले नै काममा अवरोध सिर्जना गरेको जानकारी महासंघलाई प्राप्त भएको छ।’
महामारीका कारण सरकारले अब म्याद नथप्ने नियतले काम गर्नू भने पनि व्यावहारिक रूपमा त्यो सम्भव नदेखिएकाले सरकारले नगरी नहुने केही निर्माण कार्यहरू मात्र सञ्चालन गरी अन्य सम्पूर्ण कार्यहरूको लागि शून्य समय (कन्स्ट्रक्सन होलिडे) को रूपमा गणना हुने गरी बन्द गरिनु उपयुक्त हुने महासंघको सुझाव छ। साथै, सबै परियोजनाहरूमा म्याद थपको कुनै विकल्प नभएको पनि महासंघले जनाएको छ।
निर्माण व्यवसायीहरूको अर्बौं भुक्तानी रोकिएको तथा संक्रमण तीव्र गतिमा फैलिरहेको जटिल अवस्थालाई ख्याल गरी कर बुझाउने र बैंकमा ऋणको किस्ता तिर्नका लागि समय थप गर्नुपर्ने मागसमेत महासंघले सरकारसँग राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।