काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य व्यक्ति भनिएका चूडामणि उप्रेती ‘गोरे’को बयान बिहीबारलाई निरन्तर राखिएको छ।
जिल्ला अदालत मोरङमा बुधबारबाट सुरु भएको बयान नसकिएपछि निरन्तर राखिएको हो। जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको बन्द एकल इजलासमा गोरेको बयान चलिरहेको छ।
काठमाडौंमा पक्राउ परेका गोरेलाई मंगलबार अबेर जिल्ला अदालतमा पेश गरिएको थियो। जिल्ला अदालतले मंगबार नै ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश गरेको थियो।
गोरेको बयान बिहीबार सकेर थुनछेक बहस सुरु गर्ने सम्भावना रहेको जिल्ला अदालतले जनाएको छ। न्यायाधीश शर्माको इजलासले नेपाल प्रहरीका एसएसपी दिवेश लोहनीसहित २९ जना प्रतिवादी तत्कालीन प्रमाणबाट दोषी देखिएको भन्दै थुनामा पठाउने आदेश गरेको थियो।
जिल्ला न्यायाधीश शर्माको इजलासमा बैसाख २७ गतेदेखि बहस सुरु भएको मुद्दा लगातार सुनुवाइ हुँदै आदेश भएको थियो। गोरेलाई मुख्य अभियुक्तको रुपमा हेरिएकाले उनले दिने बयानमा तस्करीमा संलग्न थप दोषीहरुको खुलासा हुने भएकाले यसलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो। मुद्दामा प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विपक्षी छन्।
मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच वर्षको अवधिमा ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी अभियोगपत्रमा गरिएको छ। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।