काठमाडौं- नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम् परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा भएको बताएको छ।
पछिल्ला दिनमा कोभिड-१९ को दोस्रो चरणको प्रकोपबाट लघु, घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई नियमित सञ्चालनमा राख्न उद्यमीहरुले अहोरात्र काम गरिरहेको महासंघका अध्यक्ष श्याम गिरीले बताए।
‘पछिल्लो तथ्याङ्कअनुसार महासंघको विभिन्न तहमा रहेका सदस्य उद्यमीहरुमध्ये ताप्लेजुङमा दुई जना, काभ्रेमा एक जना कैलालीमा दुई जना, पर्सामा एक जना, सुर्खेतमा दुई जना, बाँकेमा पाँच जना, दाङमा दुई जना, सल्यानमा एक जना, मकवानपुरमा एक जना, संखुवासभामा एक जनाले कोभिडका कारण ज्यान गुमाइसक्नुभएको छ भने ११९ जना हाम्रा लघु, घरेलु तथा साना उद्यमीहरु कोभिड संक्रमित भई उपचाररत हुनुहुन्छ,’ उनले भने।
यस्तो बेला देशभरका आम जनसमुदाय र लघु, घरेलु तथा साना उद्यमीहरुलाई सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना गर्दै आफ्ना कामदारको स्वास्थ्य सुरक्षाका लागि उपाय अवलम्बन गरी आफ्ना उद्यम व्यवसाय सञ्चालन गर्न महासंघले आग्रह गरेको छ।
कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालको बेलामासमेत आन्तरिक राजस्व विभागले जसरी भए पनि कर तिर्न आउनू भन्नु दुःखद भएको अध्यक्ष गिरीले बताए। ‘अहिले सबै क्षेत्र जस्तै हामी लघु घरेलु तथा साना उद्योगी खुल्ला हिँड्ने र कर तिर्ने अवस्थामा छैनौं। त्यसैले हामी सरकारलाई कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउन विनम्र अनुरोध गर्दर्छौ,’ उनले भने।
महासंघले कोभिडबाट प्रभावित व्वसायीका लागि पुनर्कर्जालगायतका सुविधालाई निरन्तरता दिनुपर्ने मागसमेत सरकारसँग राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।