काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयले कार्यान्वयन गर्न सकिने नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्।
मङ्गलबार प्रदेशका मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तर–मन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने बताए।
विगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधारित हुनुपर्ने बताउँदै उनले वर्तमान कोभिडको महामारीले पारेका असरलाई सम्बोधन हुने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिए।
नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्य हुने गरी कार्यक्रम तर्जुमा गर्नुपर्ने भएकाले यसमा ध्यान दिनुपर्ने मुख्यमन्त्री पौडेलकोे भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।