काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न सरकारसँग माग गरेको छ।
चेम्बरले कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा फैलिएपछि सरकारले संक्रमण रोकथाम र नियन्त्रणको लागि काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञाका कारण निर्धारित समयमा कर विवरण तथा कर दाखिला गर्न सम्भव नहुने जनाएको छ।
नियमअनुसार व्यवसायीले वैशाख २५ गतेभित्र आन्तरिक राजस्व कार्यालयमा कर विवरण तथा कर रकम दाखिला गरिसक्नुपर्ने हुन्छ। तर, कोरोना महामारीका कारण उक्त समयभित्र कर बुझाउन नसकिने चेम्बरको भनाइ छ।
‘उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन,’ चेम्बरद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाटसमेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।