फाइल तस्बिर काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढिरहेको भए पनि दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
१३२ औं अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा शनिबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्नेमा उनले जोड दिए।
विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको उनले बताए। अध्यक्ष गोल्छाले भने, ‘अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चुनौतीको रूपमा देखिएको छ। अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको छ।’
यस्तो स्थितिमा अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्नसक्ने प्रभावलाई न्यूनीकरण गर्न सबै केन्द्रित हुनुपर्ने उनको भनाइ छ। ‘विश्वभर नै कोरोना संक्रमणको प्रकृति हेर्दा चाँडै नियन्त्रणमा आउने सम्भावना छैन, यस्तो स्थितिमा जिउ ज्यानको सुरक्षाका साथै आर्थिक गतिविधिलाई चलायमान बनाइराख्नुपर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउनजस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय सञ्चालनमा संकुचन आउने र यसबाट रोजगारीसमेत प्रभावित भई थप संकट थपिने होकि भन्ने त्रास बढ्न गएको छ।’
महासंघले स्वास्थ्य सुरक्षाको विषयमा संवेदनशील भई आर्थिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको उनले बताए। ‘हामी लगानी वृद्धि र रोजगारी सिर्जनाको कुरा पनि गरिरहेका छौं, तर उद्योगहरूको विस्तार र लगानी किन बढ्न सकेको छैन? अहिले सात/आठ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाइन्छ, किन यसो भइरहेको छ? यसको कारण खोज्न जरूरी छ,’ उनको प्रश्न छ, ‘धेरैजसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैन, यसको कारण के हो?’
अध्यक्ष गोल्छाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै यसको व्यावहारिक समाधान खोजिनुपर्नेमा जोड दिए। महामारीबाट सिर्जित विषम् परिस्थितिमा अझ बढी समझदारी एवं सुझबुझका साथ सहकार्य गर्नुपर्ने उनले बताए।
महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न कठिन परिस्थितिमा आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए। अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुँदा श्रमजीवि वर्गमा पर्ने प्रभाव कम गर्न सबैले अझ बढी समझदारीका साथ सहकार्य गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।