काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न सुरु गरेको छ। प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत् आयात गर्ने छ।
योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए। पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत् खरिद गर्न प्राधिकरण सफल भएको कार्यकारी शाक्यले उल्लेख गरे।
उनले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३.८१ भारतीय रुपैयाँ रहेको उल्लेख गरे। ‘प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा विद्युत् पाएका छौं, यसबाट हाम्रो करिब ३० लाख ४८ हजार रुपैयाँ बचत भएको छ, अन्य दिनमा पनि विद्युत् खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने।
प्राधिकरणले अहिले भारतबाट ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत् आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ४.१८ भारु छ। प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर-मुजफ्फपुर प्रसारणलाइनमार्फत् विद्युत् आयात गरिरहेको छ।
प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन)बीच ढल्केबर-मुजफ्फपुर प्रसारणलाइनमार्फत् जुलाई-नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर-अप्रिलमा ३५० मेगावाटसम्म र मे-जुनमा २०० मेगावाटसम्म विद्युत् खरिद-बिक्री (पीपीए) सम्झौता भएको छ। पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ।
भारतीय एक्सचेन्ज बजारबाट विद्युत् खरिदका लागि प्राधिकरणकातर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभीभीएनले गर्नेछ। एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउने छ। एक्सचेन्ज बजारमा कारोबार भएको विद्युतको दैनिक बिल एनभीभीएनले पेस गरेपछि पाँच दिनभित्रमा प्राधिकरणले भुक्तानी पठाउनुपर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक शाक्यले बताए।
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएपछि आन्तरिक रुपमा खपत गरेर जगेडा भएको विद्युत् भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको छ। नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत् बिक्रीका लागि पनि थप सहज हुने कार्यकारी निर्देशक शाक्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।