काठमाडौं- कोरोना महामारीका कारण काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ।
निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरूले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकोले पनि सुन आयातमा कठिनाइ हुने नेपाल सनुचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघले निषेधाज्ञा अवधिभर आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ। यद्यपि, केही जिल्लामा कारोबार सञ्चालनमा रहेकाले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले बताए। उनले अधिकांश स्थानको व्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले धेरैजसो ठाउँमा सुन पसल बन्द रहेको बताए।
मोफसलका केही जिल्ला र सहरहरू मात्र खुलेको हुनाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको उनको भनाइ छ। अहिले रोकिएको सुनको आयातलाई व्यवसाय पुनः सञ्चालनमा आएपछि निरन्तरता दिँदा अहिले रोकिएकोसमेत गरी थप सुन व्यवसायीकै हातमा पर्न जाने उनले बताए। तर, अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सीमित व्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक व्यवसायी र उपभोक्ताले नपाउने अवस्था आउनसक्ने आशंका व्यवसायीहरूको छ।
महासंघका प्रवक्ता मनोजकुमार शाहले कारोबार सञ्चालनमा रहेका जिल्लाहरूका लागि स्थानीयस्तरमा नै सुनको बिक्री वितरणको व्यवस्था मिलाउन बैंकर्स एसोसिएसनसँग आग्रह गरिएको बताए। यसका लागि व्यवसायी र बैंकर्स एसोसिएसनबीच आवश्यक परामर्श भइरहेको उनको भनाइ छ। कारोबार सञ्चालनमा रहेका स्थानमा विशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्नसमेत उनले व्यवासयीलाई आग्रह गरे।
‘विगतमा पनि बन्दको बेला सुन आयात गरिँदा त्यो सुन वास्तविक व्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो। गत वर्षको बन्दमा भण्डै ५०० किलो सुन बैंकमा थुप्रिय पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो। तर, त्यो सुन कहाँ गयो भन्ने तथ्यांक महासंघसँग नै छैन। यसर्थ फेरि पनि त्यसरी सुन गायब नहोस् भन्नेतर्फ महासंघ सचेत बनेको छ,’ प्रवक्ता शाहले भने।
सामान्यतया बैंकहरूबाट आयात हुने सुन १५ दिनपछि व्यवसायीको सिफरिसविना नै बैंकहरूले बिक्री गर्ने गरेको र सोको तथ्यांक माग गर्दा महासंघलाई नदिइएको व्यवसायीको भनाइ छ। त्यसरी बिक्री गरिएको सुन सीमित व्यक्तिको मात्र हातमा पर्नसक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ।
‘सरकारले निषेधाज्ञा जारी गरेको अवस्थामा पनि ‘जति सुन ल्याए पनि हामी उठाउँछौं’ भन्नेजस्ता अभिव्यक्ति आउनुलाई चलखेलकै रूपमा लिन सकिन्छ,’ महासंघले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।