काठमाडौं–खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको समयमा उपत्यकाका चार वटा बिक्री केन्द्र खुला गरी खाद्यान्न बिक्री गर्ने भएको छ।
कम्पनीले उपभोक्ताको सहजताका लागि थापाथली, नख्खु, रामशाहपथ र सूर्यबिनायक बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने तयारी गरेको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।
कार्यालयहरु निश्चित समय तोकेर सञ्चालन गरिने उनको भनाइ छ। उनका अनुसार रामशाहपथ र सूर्यबिनायक बिक्री केन्द्र बिहान ७ देखि ११ बजेसम्म सञ्चालन हुनेछ भने नख्खुबाट बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म खाद्यान्न बिक्री गरिनेछ।
थापाथलीमा रहेको प्रादेशिक बिक्री केन्द्रबाट भने तीन सिफ्टमा गरी दिनभर खाद्यन्न बिक्री गरिने सूचना अधिकारी न्यौपानेले बताइन्। बिक्री कक्षबाट बासमती चामल, जुम्ली मार्सी चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु र स्यानिटाइजर बिक्री गरिने कम्पनीले जनाएको छ।
माहामारीको असहजतालाई ध्यानमा राखी सकेसम्म अनलाइनमार्फत सेवा लिन कम्पनीले उपभोक्तलाई आग्रह गरेको छ । अनलाइन पोर्टल नेपाल फुड तथा सस्तो डिलमार्फत कम्पनीको उत्पादन अर्डर गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाल फुडबाट गरिने अनलाइन डेलिभरी चक्रपथ भित्रमात्रै हुने र सस्तो डिलमार्फत हुने अर्डरको डेलिभरी सेवा उपत्यकाभर निःशुल्क दिइने पनि कम्पनीले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।