काठमाडौं– निर्यात व्यवसायी महासंघ नेपालले निर्यातजन्य उत्पादन तथा ढुवानी अत्यावश्यक भएकाले त्यस्ता वस्तुहरुलाई अत्यावश्यक वस्तुको सूचीमा समावेश गर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष रामबहादुर गुरुङले विहीबार(आज) एक विज्ञप्ति जारी गर्दै बिगतदेखि नै निर्यातजन्य उद्योगहरु सरकारको प्राथमिकतामा नपर्दा यस क्षेत्रको विकास अपेक्षा अनुरुप हुन नसकेको बताएका छन्।
निर्यात व्यवसाय अत्यन्त संवेदनशिल क्षेत्र भएकोले उद्योग बन्द गर्दा हाल भैरहेको मागको समय मै डेलिभरी दिन नसक्दा अर्डर क्यान्सिल हुने र त्यसको क्षतिपूर्ति पनि नहुने हुँदा निर्यात क्षेत्र मन्दिको अवस्थामा फस्न जाने विज्ञप्तिमा जनाइएको छ।
क्वारेन्टाईन, आइसोलेसनको व्यवस्थापन तथा अत्यावश्यकीय औषधिको आपूर्तिका लागि आवश्यक प्रणालीको निर्माण गर्नु अति आवश्यक देखिएको महासंघको विज्ञप्तिमा जनाइएको छ।
महासंघले कोभिडका कारण सृजना भएको संकटको परिस्थितीमा असंगठित क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी मजदुर, अत्यन्त बिपन्न अवस्थामा रहेको परिवार तथा सहारा विहीनको लागि तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
प्रेस विज्ञप्ति
कोभिड १९ को दोस्रो लहर तीव्ररुपमा बढेसँगै नेपाल सरकारले आम जनताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी काठमाण्डौं लगायत मुलुकका बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । कोभिड १९ ले निम्त्याएको असहज परिस्थिती प्रति निर्यात व्यवसायी महासंघ नेपाल अत्यन्त चिन्तित र संवेदनशिल रहेको छ । यस परिस्थितीले निर्यात क्षेत्रका साथै देशको अर्थतन्त्रलाई पुर्याएको क्षति सर्वविदितै छ । भर्खरै लयमा आउनलागेको अर्थतन्त्रमा पुन संक्रमणको दर बढ्दै जाँदा त्यसको नकारात्मक असर पर्ने देखिएको छ । सरकार, निजी क्षेत्र र आम जनता सबैको प्रमुख दायित्व भनेको कोभिड संक्रमणको चेन ब्रेक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन हो । तसर्थ सरकारले जनताको स्थास्थ्य सुरक्षाका लागि चालेको यो प्रयासमा यस महासंघ सहयोगको लागि प्रतिबद्ध छ ।
आगामी दिन पक्कै पनि अप्ठ्यारा रहने छन्। तसर्थ नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गदै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रोजगारी नगुम्ने र आर्थिक गतिविधी संञ्चालन गर्न सहज वातावरण वनाउन आवश्यक रहेको छ । यस्तो अवस्थामा दैनिक उपभोग्य सामाग्रीका उद्योग, निर्यातजन्य वस्तु उत्पादन हुने उद्योग, महत्वपुर्ण परियोजनाहरु संचालन गर्नु आवश्यक छ । त्यस्ता उत्पादित वस्तुको सहज आपूर्ति, ढुवानी, विक्री, स्वदेश मै कच्चा पदार्थको उत्पादन तथा आयातमा सहज बनाउनका साथै निर्यातजन्य उद्योगका कर्मचारी तथा मजदुरलाई कार्यालय आवतजावत गर्नको लागि सहजिकरण गर्नु आवश्यक छ । जसले एकातर्फ उत्पादनको चेन ब्रेक नभई अर्थतन्त्रलाई चलायमान राख्न मद्दत गर्छ भने अर्को तर्फ मजदुरहरुको दैनिक जिविकोपार्जनको समस्या पनि हल हुन्छ । कोभिडका कारण सृजना भएको यो संकटासन्न परिस्थितीमा असंगठित क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी मजदुर, अत्यन्त बिपन्न अवस्थामा रहेको परिवार तथा सहारा बिहिनको लागि तत्काल राहत उपलब्ध गराउन अपिल गर्दछ ।
निर्यात व्यवसाय अत्यन्त संवेदनशिल क्षेत्र भएकोले उद्योग बन्द गर्दा हाल भैरहेको मागको समय मै डेलिभरी दिन नसक्दा अर्डर क्यान्सिल हुने र त्यसको क्षतिपूर्ति पनि नहुने हुँदा निर्यात क्षेत्र मन्दिको अवस्थामा फस्न जान्छ । जसले नेपालमा आयात निर्यात व्यापारको अनुपातलाई अझ बढाउने हुँदा व्यापारघाटामा बृद्धि हुन जान्छ । निर्यातजन्य बस्तुको उत्पादन तथा ढुवानी अतिआवश्यक वस्तु भएकाले त्यस्ता वस्तुहरुलाइ अतिआवश्यक बस्तुको सुचीमा समावेश गर्नको लागि यस महासंघ सरकार समक्ष आग्रह गर्दछ । बिगत देखि नै निर्यातजन्य उद्योगहरु सरकारको प्राथमिकतामा नपर्दा यस क्षेत्रको बिकास अपेक्षा अनुरुप हुन सकेको छैन ।
यस महासंघ नेपाल सरकारका तिन वटै तहहरुलाई कोभिड १९ का कारण निम्तन सक्ने सम्भावित अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रह गर्दछ । क्वारेन्टाईन, आइसोलेसनको व्यवस्थापन तथा अत्यावश्यकिय औषधीको आपूर्तिका लागि आवश्यक प्रणालीको निर्माण गर्नु अति आवश्यक देखिएको छ । यस महासंघ आवद्ध सम्पुर्ण वस्तुगत महासंघ, संघ तथा एसोसियट सदस्यहरु तथा आम जनतालाई आफु बच्दै अरुलाई पनि बचाउने खालका कर्तव्य गर्न अनुरोध गर्दछ । यो संकटको घडिमा कालोबजारी नगर्न सम्पुर्ण व्यवसायीमा यस महासंघ विषेश अनुरोध गर्दछ । सरकार, निजी क्षेत्र र आम जनताको संयुक्त प्रयासमा यो परिस्थिती छिट्टै सहज हुने यस महासंघको बिश्वास रहेको छ । यस सकटासन्न समयमा यस महासंघ सरकार र आम जनता सँगै रहेको र आवश्यक साथ र सहयोगको लागि सधै प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छ ।
माननीय राम बहादुर गुरुङ
अध्यक्ष
निर्यात व्यवसायी महासंघ नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।