काठमाडौं– सरकारले अक्सिजन सिलिण्डर लगायत जीवनदायक मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ। कोरोना संक्रमितको उपचारमा आवश्यक अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो।
अर्थ मन्त्रालयको प्रस्तावमा वैशाख १३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जीवनदायक अक्सिजन सिलिण्डरलगायत मालवस्तुको आयातमा कर छुट दिने निर्णय गरेको थियो। उक्त निर्णय आज सार्वजनिक गरिएको हो।
कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढेसँगै अक्सिजन सिलिण्डरको अभाव देखिएको छ। चिकित्सकहरुका अनुसार अहिले संक्रमित भई अस्पतालमा भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने देखिएको छ। त्यही कारण अक्सिजन सिलिण्डरको माग बढेको हो।
व्यवसायीहरुले यसअघि नै अक्सिजन सिलिण्डरमा कर छुट दिन माग गर्दै आएका थिए।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० हजार थान अक्सिजन सिलिण्डर आयातका लागि व्यवसायीलाई भन्सार छुट गरिदिन अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।