काठमाडौं– निजी क्षेत्रका व्यवसायीहरुले पनि सरकारले कोरोना रोगथामका लागि वैशाख १६ गतेबाट गर्न लागेको निषेधाज्ञालाई पालन गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले सरकारले चालेको कदममा सहयोग गर्ने र सबैले पालन गर्न समेत अपिल गरेको छ।
महासंघले निषेधाज्ञाका समयमा आम जनताको दैनिक जीवनयापन सहज बनाउन, उनीहरूको दैनिक आवश्यकता पूरा गर्न, अत्यावश्यक खाद्यान्नलगायत स्वास्थ्य सामग्रीहरूको बजारमा सहज आपूर्तिमा निजी क्षेत्र सरकारसँगै रहने समेत प्रतिवद्धता गरेको छ।
महासंघले उच्चतम स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपायहरू अलवम्बन गरी निशेधाज्ञाको समयमा पनि रोजगारी नगुम्ने र आर्थिक गतिविधि संचालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको बताएको छ।
यस्तो अवस्थामा आर्थिक महत्व बोकेका ठूला परियोजनाहरूको निरन्तर संचालनको सुनिश्चितता, उद्योग कलकारखानाहरूको संचालन आवश्यक रहेको व्यवसायीको भनाइ छ।
उत्पादित सामानहरूको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजतासहित उद्योग व्यवसाय संचालनका लागि आवश्यक कामदार कर्मचारीहरूको आवतजावतलाई सहज बनाउन महासंघले सरकारसंग अनुरोध गरेको छ।
यस्तै, निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई राहतको व्यवस्था गर्न पनि महासंघले सरकारसँग आग्रह गरेको छ।
रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनामा संलग्न गराइ कामसँगै राहत उपलब्ध गराउन सकिने महासंघको धारणा छ।
लघु, घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत वर्ष घोषणा भएको राहतको निरन्तरतासँगै नयाँ लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै घोषणा गर्न पनि महासंघले सरकारसमक्ष अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।