काठमाडौं- मितिः २०७८ वैशाख १४ गते मंगलबार।
स्थानः परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल।
समयः दिउँसो करिब २ बजे।
मध्य दिनको घाम चर्किएको थियो। गर्मीको पर्वाह नगरी मानिसहरू परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको पूर्वी गेटतर्फ लाइनमा उभिएका थिए। त्यही लाइनमा थिए जगदीशलाल उराउ (५५)।
उराउको ज्यान पसिनैपसिना भइसकेको थियो। लाइनमा घरी अघि, घरी पछि गर्दै पसिना पुछिरहेका देखिन्थे। लाइनको भीडले बेला-बेला हुत्याएर अगाडि पुर्याउँथ्यो। फेरि, प्रहरी आएर माइकिङ गर्दै दूरी कायम गर्न भनेपछि घचेटिँदै पछाडि पुग्थे। चर्को गर्मी त्यसैमा भोक र थकाइले दिक्क भएको उराउको अनुहारमा प्रस्ट देखिन्थ्यो।
कोरोनाविरुद्धको खोप लगाइँदै छ भन्ने थाहा पाएका उराउ बिहान ६ बजे चिया-बिस्कुट मात्रै खाएर ललितपुरको चापागाउँबाट थापाथली अस्पताल पुगेका थिए। आँखाले नभ्याउने लाइन देखेपछि उनी टोकन लिएर सीधै लाइनमा उभिए। पालो आउने पर्खाइमा बसेका उनी दिउँसो २ बजे बल्ल खोप लगाउने ठाउँनजिक पुग्दै थिए।
खोप लगाउनेको भीड र ठेलमठेल, त्यसमाथि भोकले रन्थनिएका उनले सरकारप्रति आक्रोश पोखे। खोप लगाउनका लागि राम्रो व्यवस्थापन नगरेको भन्दै उनी आक्रोशित बनेका हुन्।
‘यस्तो भीडभाड छ। यहीँबाटै कोरोना फैलेला भन्ने डर छ। खोप लगाउने व्यवस्था नगरपालिका वा वडा-वडामा गरिदिए कति राम्रो हुन्थ्यो?,’ उराउ ले भने, ‘अब यहाँबाट कोरोना फैलिए सरकार नै जिम्मेवार हुनुपर्छ।’
उनले सरकार नै कोरोना फैलाउन लागिपरेको आरोप लगाए। कोरोना नियन्त्रण गर्नुको सट्टा उल्टै बालुवाटार र पार्टी प्यालेसमा बैठक/भेला गरेर संक्रमण फैलाएको उनको आरोप छ।
भारतको उदाहरण दिँदै उराउले निर्वाचन आयोगले चुनाव स्थगित नगरेकाले देशैभर कोरोना फैलिएको भन्दै कारवाहीको माग उठेको बताउँदै नेपालमा किन सरकारलाई कारबाहीको माग नगर्ने भन्दै आक्रोश पोखे।
‘भारतमा निर्वाचन आयोगले चुनाव गराउँदा कोरोना फैलायो भनेर कारबाही गर्नुपर्छ भनेर आवाज उठाइरहेका छन्,’ भारतको उदाहरण दिँदै उराउले भने, ‘नेपालमा सरकार आफैं भीड जम्मा गरेर बैठक/भेला गर्छ। यहाँ हामीले यसरी भीडभाड गरेर खोप लगाइरहेका छौं। सरकारले प्रहरी प्रशासन र अरू जनशक्ति व्यवस्थापन गर्न सक्दैन? कोरोना फैलाउने सरकारविरुद्ध हामीचाहिँ किन कारबाहीको माग नगर्ने?’
प्रसूति अस्पताल अगाडिको सोही लाइनमा थिइन् सीता बस्नेत। उनी खोप लगाउन भन्दै बिहान ७ बजेदेखि लाइनमा बसेकी थिइन्। टोकन लिएर पनि ठेलमठेल लाइनमा उभिनुपर्दा उनलाई पनि सरकारको व्यवस्थापन फितलो लागेको थियो।
‘अस्पतालले टोकन दिएर पनि व्यवस्थापन गर्न नजान्दा यसरी भीडभाडमा उभिनुपर्यो,’ उनले भनिन्, ‘परिवारले खोप लगाउन नजाऊ भन्दा भन्दै आएँ, यहीँबाट कोरोना लिएर जाने डर भयो।’
कोरोना संक्रमण कम गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको सीताले गुनासो गरिन्। यसले आगामी दिन कस्तो हुने हो भन्ने त्रास बढाएको उनले बताइन्।
०००
सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने सन्तोष भट्टराई बिहान ४ बजे नै ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुगेका थिए। उनी अस्पताल आइपुग्दासम्म ३०/३५ जनाको लाइन लागिसकेको थियो।
पाँच घण्टापछि बिहान ९ बजे उनले बल्ल टोकन पाए। टोकन लिएको ६ घण्टापछि दिउँसो ३ बजे भट्टराईले खोप लगाउन पाएका थिए।
काठमाडौंको एक प्रतिष्ठित संस्थामा मार्केटिङको काम गर्ने भट्टराई सरकारले पहिलो लकडाउनबाट पाठ नसिक्दा सर्वसाधरणले दुःख पाउने अवस्था आएको बताए। सरकारले समयमै नाकाहरूमा कडाइ नगर्नुका साथै स्वास्थ्य मापदण्ड पालना नगर्दा भयावह स्थिति भोग्नुपर्ने दिन आएको उनको भनाइ छ। खोप लगाएपछि पनि कोरोनाबाट बच्ने निश्चित छैन, तर खोप लिएपश्चात् मनमा थोरै सन्तोष हुने उनले बताए।
०००
सरकारले सर्वसाधारणलाई कोरोनाविरूद्धको खोप दिन सुरू गरे पनि व्यवस्थित गर्न नसक्दा समस्या देखिएको हो। कोरोना संक्रमण उच्च बन्दै गर्दा खोप लगाउन यसरी भीड जम्मा हुँदा थप जोखिम हुने देखिएको छ।
सोमबारदेखि ‘टोकन सिस्टम’ लागू गरिए पनि व्यवस्थित रूपमा खोप वितरण गर्न नसकिएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी फोकल पर्सन नानीमैया कवैले स्वीकार गरिन्।
सोमबार करिब १८ जनालाई खोप लगाएको र मंगलबार १२ सय जनालाई टोकन बाँडिएको उनले बताइन। सरकारी संयन्त्रबाट खोपका विषयमा पर्याप्त सूचना प्रवाह नहुँदा सबै समूहका सर्वसाधाण खोप लगाउन आएको कवैले बताइन्।
अस्पतालमा कर्मचारीलाई एक ठाउँमा र सर्वसाधरणलाई पाँच ठाउँबाट खोप लगाउने व्यवस्था गरिए पनि सर्वसाधारणको भीड हुँदा हम्मे-हम्मे परेको उनको भनाइ छ।
हिमाल अस्पतालका फेकल पर्सन मीनराज न्यौपानेले खोप आउने र संक्रमण बढ्ने क्रम एकै समयमा हुँदा खोप लगाउन आउनेको संंख्या बढेको बताए। सोमबार सात केन्द्रबाट खोप वितरण गरेकोमा मंगलबार ११ केन्द्रमार्फत् खोप लगाउने काम भएको उनले बताए।
भिडियो: अनुराग लम्साल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।