कराची– पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५५ पुगेको कराचीका एक सरकारी अधिकारीले बिहीबार बताएका छन् ।
कराचीको दक्षिणी जिल्लाका उपायुक्त जावेद नबी खोसोले भने, “शनिबार राति आगलागी भएपछि हालसम्म कुल ५५ जनाको शव निकालिएको छ ।” उनका अनुसार उद्धार कार्य अझै जारी छ र भग्नावशेषभित्र मानव अवशेष खोज्ने प्रयास भइरहेको छ ।
तीन तले गुल प्लाजामा भएको उक्त आगलागीपछि अझै केही व्यक्ति बेपत्ता रहेको आशङ्कामा आफन्तहरूले उद्धार कार्य ढिलो भएको भन्दै आलोचना गरेका छन् । घटनास्थलमा उद्धारकर्ताहरूले निरन्तर खोजी गरिरहे पनि धेरै परिवार अझै आफ्ना प्रियजनको अवस्थाबारे अनिश्चिततामा रहेका छन् ।
प्रान्तीय स्वास्थ्य अधिकारी डा सुमैया सैयदले बुधबार पत्रकारहरूसँग कुरा गर्दै ५० भन्दा बढी परिवारले डिएनए नमूना उपलब्ध गराइसकेको जानकारी दिए । उनले सिभिल अस्पताल कराचीको शवगृह बाहिर भने, “डिएनए नमूनाहरू मिलान भएपछि मात्र हामी शव वा अवशेष सम्बन्धित परिवारलाई सम्मानपूर्वक हस्तान्तरण गर्नेछौँ ।”
कराचीका बजार र कारखानाहरूमा कमजोर पूर्वाधारका कारण आगलागीका घटना बेला–बेला हुने गरेको पाइन्छ । तर अधिकारीहरूका अनुसार यसपटकको आगलागीको परिमाण र मानवीय क्षति असाधारण र दुर्लभ रहेको छ ।
यस घटनाबारे छानबिन गर्न सरकारी समितिले अनुसन्धान सुरु गरिसकेको छ । तर आगलागी कसरी र किन भयो भन्ने विषयमा हालसम्म स्पष्ट कारण पत्ता लाग्न सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।