काठमाडौं– गगन थापा नेतृत्वमा नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्ने भएको छ।
गत पुस २७–३० मा काठमाडौँको भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यमितिको बैठक शुक्रबार पहिलोपटक आफ्नै कार्यालयमा बस्ने भएको हो।
शुक्रबार बैठकले घोषणापत्र लेखन र निर्वाचन तयारीका लागि उपसमिति बनाउने र सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने पनि बुझिएको छ।
नवनिर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलोपटक माघ १ गते कुपण्डोलको म्यासेममा बसेको थियो भने माघ २ गते निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएपछि दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको थियो।
विशेष महाधिवेशनबाट थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री, डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्री चुनिएका थिए । विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चुनेको थियो ।
२०७८ सालमा भएको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा नेतृत्वको समूह र डा.शेखर कोइराला नेतृत्वको समूहले अस्वीकार गरेको थियो ।
विशेष महाधिवेशनलाई अस्वीकार गर्दै दुवै समूह निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।