फाइल तस्बिर काठमाडौं- गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारे पनि चिया उत्पादनमा भने असर नपरेको चिया विकास बोर्डले जनाएको छ।
बोर्डकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को नाै महिनामै तीन अर्ब छ करोड रूपैयाँ बराबरको नाै हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ। यो तथ्यांक भन्सार विभागको हो।
गत आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ७८ करोड रूपैयाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो। ‘अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षेति बेहोर्नु परेन। लकडाउनका बीच पनि स्वास्थ्यसम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरी बोर्डको अग्रसरतामा चिया बगान र उद्योगहरू सञ्चालनमा रहे। जसले गर्दा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको हो,' बोर्डका कार्यकारी अध्यक्ष डा. विष्णुप्रसाद भट्टराईले भने।
बोर्डको तथ्यांकअनुसार आव २०७५/७६ मा २५ हजार २०५ मेट्रिक टन उत्पादन भएको चिया आव २०७६/७७ मा घटेर २४ हजार ११८ मेट्रिक टनमात्र उत्पादन भएको छ। उत्पादनमा केही गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि हुनु उपलब्धिको रूपमा लिएको उनको भनाइ छ।
स्वदेशमा चिया उपभोग गरी बढी भएको उत्पादन भारतलगायतका तेस्रो मुलुकमा निर्यात गर्नुपरेको अवस्था हाल विद्यमान छ। नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रतिव्यक्तिभन्दा कम रहेको अनुमान गरिन्छ। छिमेकी मुलुक भारतमै वार्षिक ३३० ग्राम प्रतिव्यक्ति खपत रहेको सन्दर्भमा नेपालमा चिया उपभोग अत्यन्तै न्यून रहेको आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।