काठमाडौं- आगामी आर्थिक वर्ष २०७८/७९ को विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघसँग छलफल गरेको छ। छलफलको क्रममा व्यवसायीले व्यक्तिगत आयकरको सीमा बढाउनु पर्ने सुझाव दिएका छन्।
व्यवसायीले व्यक्तिको आयकरमा अविवाहितलाई ७ लाख र विवाहितको हकमा ८ लाखको कर छुटको सीमा गर्नुपर्ने सुझाव दिएका छन्। यसैगरी पारिश्रमिक आयकरको वर्तमान स्ल्याव न्यूनिकरण गरी ५, १५ र २५ प्रतिशत गरिनुपर्ने व्यवसायीको माग छ।
बैंक तथा वित्तीय क्षेत्रमा कायम रहेको ३० प्रतिशत करको दरलाई घटाउनुपर्ने पनि व्यवसायीले अर्थमन्त्रीलाई सुझाव दिएका छन्। साथै, प्रोप्राइटरसिप फर्मलाई सर्वचार्ज नलाग्ने व्यवस्था गर्नुपर्ने र कार्गो व्यवसायमा लाग्दै आएको टीडीएस हटाउनुपर्ने व्यवसायीको माग छ।
महासंघले करदाताले माग गरेमा समायोजनपछि बढी भएको टीडीएएस अग्रिम आयकरको रकम ३० दिनभित्र फिर्ता दिनुपर्ने सुझाव दिएको छ।
अन्य सुझावहरू :
–ऊर्जा बचत तथा वैकल्पिक ऊर्जाको प्रयोग र वातावरण संरक्षणका लागि गरेको पूँजीगत लगानी सोही आर्थिक वर्षमा खर्च लेख्न पाउनु पर्ने।
–दुई वर्ष भन्दा बढीको उधारो संकलन हुन नसकेमा कारोबारको दुई प्रतिशतमा नबढ्नेगरी त्यस्ता ब्यााट डेप्ट रहेका रकमलाई करदाताले चाहेमा राइट अप गर्ने व्यवस्था गरिनु पर्ने।
–मोलासिसबाट उत्पादित इएनए स्यानिटाइजर, रक्सीको कच्चा पदार्थ भएको हुनाले चिनी उद्योगले उत्पादन गरेको इएनएको छुट्टै आय कायम गरी नोक्सानीमा मिलान नगर्ने व्यवस्था खारेज हुनुपर्ने।
–औद्योगिक व्यवसाय ऐन २०७६ मा भएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सामाजिक कार्य सम्बन्धित संस्था आफैंले खर्च गरी हिसाब अद्यावधिक राख्न पाउनुपर्ने।
–आयकर ऐनको दफा ५७ र सो सँग सम्बन्धित दफा ४० लगायत अन्य दफाहरूलाई खारेज वा पुनरव्याख्या गर्नुपर्ने।
–जरिवानाका दरहरू कसूरको आधारमा समानुपातिक बनाई घटाइनु पर्ने।
–फूलअडिट दुई वर्षभित्र सम्पन्न गरि सक्नुपर्ने।
–आन्तरिक राजश्व विभागबाट अनुमति लिएर चार वर्षपछि पनि अडिट गर्ने हालको प्रक्रियालाई खारेज गर्नुपर्ने।
–हालको जरिवानाको ब्याजलाई १५ प्रतिशतबाट घटाएर १० प्रतिशत गरिनुपर्ने।
–बाँकी बक्याैता रहेको कर निश्चित अवधि (६ वर्ष) भित्र असुल उपर गरिसक्नु पर्ने र सो अवधिपछि सरकारले माग गर्न नपाउने व्यवस्था हुनुपर्ने।
–महालेखा परीक्षकको बेरुजुको नाममा करदातालाई त्रसित पार्न नपाइने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।